कालिका क्याम्पसको ३३ औं वार्षिकोत्सव

समाधान संवाददाता २०८१ पुष १३ गते १८:४०

पोखरा । कालिका बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी शुक्रबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. शंकरप्रसाद भण्डारीले नेपालमा करिब १४५२ क्याम्पसहरु रहेका र त्यसमध्ये क्युएएको प्रमाणपत्र प्राप्त जम्मा ११२ क्याम्पसहरु रहेको सुनाए ।

Advertisement

विश्वविद्यलाय अनुदान आयोगको रेकर्डमा सबैभन्दा छोटो समयमा क्युएएको प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा कालिका बहुमुखी क्याम्पसलाई उनले बधाई दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले शैक्षिक गुणस्तर उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्न क्याम्पस लागिपरेको बताए ।

क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसलाई प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा स्थापित गर्न स्वदेशी तथा विदेशी संघसंस्था र स्थानीय समुदायसँग सहकार्य गर्ने बताए । उनले आउँदो चैत १६ र १७ गते विभिन्न देशको विज्ञहरुलाई सहभागी गराई दिगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासमा उच्च शिक्षाको भूमिका शीर्षकमा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरिने बताए ।

संस्थापक सदस्यहरु डा. चन्द्रबहादुर गुरुङ, महेश गुरुङ, डा. कृष्ण केसीले क्याम्पस स्थापना कालमा देखेको सपना आज पूरा हुँदै गइरहेकोमा खुसी व्यक्त गरे । नेपाल पब्लिक क्याम्पस संघ, गण्डकी प्रदेश संयोजक ऋषि बुढाथोकी, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सपना श्रेष्ठ लगायतले मन्तव्य राखे ।

उत्कृष्ट कार्यसम्पादन गरेका शिक्षक बोधराज पौडेललाई त्यस अवसरमा सम्मान गरिएको थियो । लघु अनुसन्धान गरे वापत क्याम्पसका शिक्षकहरु लोकनाथ सुवेदी र पुष्पराज तिमिल्सिनालाई प्रंशसापत्र प्रदान गरिएको थियो ।

Advertisement

उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद रकम र प्रमाणपत्र प्रदान गरिएको थियो । अत्तिरिक्त क्रियाकलाप अन्तर्गत फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, नृत्य, हाजिर जवाफ, कविता, निबन्ध, वक्तृत्वकला, चित्रकला प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त अवसरमा निर्वतमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाद्वारा बुबा–आमाको स्मृतिमा विश्व–रेवती छात्रवृत्ति कोष वापत १ लाख ५१ हजार क्याम्पस प्रमुखलाई हस्तान्त्रण गरे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तथा पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष वोधबहादुर कार्कीले गरेका थिए । कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया