आजकल मृत्युसँग डर लाग्दैन

सुरक्षा श्रेष्ठ २०८१ माघ ६ गते ११:५०

अघिल्लो वर्ष कात्तिक १० मा भएको दुर्घटनापछि उपचार गराएर तंग्रिएयता कलाकार प्रकाश घिमिरे शरीरमा पहिलेजस्तो तागत नभएको अनुभव गर्छन् । स्मरण शक्ति केही घटेजस्तो आभास पनि उनलाई हुन्छ । तर कलारितामा भने सक्रियता घटेको छैन । त्यो दुर्घटनापछि पनि उनले १० वटा चलचित्रमा अभिनय गरिसकेका छन् । घाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएका उनी अझै पूर्ण निको भइसकेका छैनन् ।

Advertisement


उनलाई दुर्घटनापछि पनि चलचित्रमा अभिनय गर्न भ्याइ–नभ्याइ छ । टलकजंग भर्सेस टुल्के, पशुपति प्रसाद, जात्रा, महाजात्रा, छक्का पञ्जा ५ लगायत चल्तीका सिनेमामा अभिनय गरेका उनी सहायक भूमिकाका लागि प्रसिद्ध छन् । भर्खरै ‘डोरी’ चलचित्रको सुटिङ सकेका उनी अर्को चलचित्रका लागि शुक्रबार पोखराबाट भोजपुर गएका छन् । भोजपुर जानुअघि घिमिरेसँग दुर्घटनापछिको समय, त्यसपछि जीवनलाई हेर्ने दृष्टिकोण र नेपाली चलचित्र उद्योगबारे पत्रकार सुरक्षा श्रेष्ठले कुराकानी गरेकी छन् :

त्यो दुर्घटनापछि यहाँको व्यक्तिगत जीवनमा के परिवर्तन भएको छ ? के अनुभव गर्नुभएको छ ?

दुर्घटनापछि चाहिँ कलाकार साथीहरूले बढी बोल्ने भएको छु भन्छन् । अलिकति बढी बोल्छु कि भन्ने लागिरहेको छ । बोलीमा मेरो अलि कमान्ड भको छैन के ! बोल्दा अलि बहकिने, भड्किने भएको हो कि हो किजस्तो लाग्छ । अरुले चाहिँ बोलीमा परिवर्तन आएछ भन्नुहुन्छ । म पहिला नै बोली राख्ने भएर होला मलाई चाहिँ त्यस्तो महसुस भएको छैन ।

अभिनय जीवन कस्तो चलिरहेको छ ? दुर्घटनाले प्रभाव पारेको केही छ कि ?

Advertisement

मैले दुर्घटनापछि १० वटा फिल्म सकेँ । सुरुसुरुमा गाह्रो लागेको थियो । महाजात्रा भन्ने चलचित्र अस्पतालबाट डिस्चार्ज भएको २० दिनपछि सुटिङ गर्न गएको थिएँ । त्यतिबेला मेरो स्मरणशतिm अलि कम भएको थियो । डाइलगहरू सम्झन सक्दिनँ कि बोल्न सक्दिनँ कि भएको थियो । तर गरेँ । निर्देशकले पनि ओके–ओके भन्नुभयो । कतै गल्ती भए सम्झाउनु हुन्थ्यो । त्यसपछि खासै अन्तर चाहिँ भएन । तर अलि लामो–लामो डाइलग भयो भने सम्झनलाई गाह्रो हुन्छ । उहाँहरूलाई पनि म सक्दिनँ कि भन्थेँ । ‘होइन दाइ, तपाईं सक्नुहुन्छ’ भनेर हौसला दिनुभयो । त्यसपछि डिग्री माइला फिल्म गरेँ । दुर्घटनापछि फिल्ममा अभिनय गर्दा सजिलो वातावरण बनाइदिनुहुन्छ । सीधा भाषामा भन्नु पर्दा मेरो ख्याल राख्नुहुन्छ । सबैले माया र हौसलाले यहाँसम्म कि मेरो दुर्घटना भएको नै बिसाउने वातावरण बनाइदिनुभएको छ ।

त्यो घटनापछि सामना गर्नुपरेका चुनौती के रहे ? अभिनय गर्दा दुःख–सुःख के अनुभव गर्नुभयो ?

दुर्घटनापछि स्वाथ्यमा समस्या त आइहाल्यो । फिल्ममा फाइट खेल्दाको सिन गर्न अलि गाह्रो भयो । छक्का पञ्जा ५ को बेलामा, रेशम फिलिलिको सुटिङमा दौडिँदा गाह्रो भएको थियो । तर निर्देशक सरले मलाई असर नपर्ने तरिकाले सहयोग गर्नुभयो र सकेँ पनि । अहिले हालसालै ‘डोरी’ फिल्म सकेर बसेको छु । त्यसमा पनि यस्तै शरीरलाई गाह्रो हुने सिन थियो तर उहाँहरूले मिलाएर मैले त्यो सिन गर्न परेन । यसरी नै माया, वास्त गर्नुहुन्छ । स्टन्ट गर्दा गाह्रो भएको महसुस हुन्छ ।

दुर्घटना भएपछि बेहोस हालतमा पनि म फिल्मबारे नै सोचिरहेको थिएँ भनेर साथीहरूले भन्छन् । मैले त्यतिबेला हात्तीछाप फिल्म गर्दै थिएँ । यो फिल्मको निर्माता आउनुभयो र यसले सक्दैन भनेर चेन्ज गर्नुभएछ । तर उहाँसँग रमाइलो पनि भयो । जुन मैले फिल्म साइन गर्दा पैसा लिएको थिएँ मैले दिन्न भनेको थिएँ जिस्किएर । उहाँले अझै १ लाख थपेर दिन्छु भन्नुभयो । त्यसपछि महाजात्रामा प्रदीप जी (प्रदीप भट्टराई)ले आँट दिनुभयो ।

मैले त सक्छु होला भन्ने भयो । गाह्रो भएपनि मैले फिल्म गरेँ । सुरु गरिसकेको फिल्म त सक्न पर्‍यो । उहाँहरूले फिल्मभन्दा मेरो स्वाथ्य ठूलो कुरा हो भन्नुहुन्थ्यो । सक्छस् भने गर नत्र नगर् भन्नु हुन्थ्यो । अनि मैले मलाई १५ दिन आराम गर्न दिन्छौ भनेर सोधेँ । हुन्छ भन्ने जवाफ आयो । पोखरा आएर १५ दिनपछि फेरि सुटिङमा गएँ । डिग्री माइला फिल्म पनि सकेँ र अहिले पनि अरु फिल्म गर्दैछु ।

नेपाली फिल्म अलि वास्तविक लाग्थेन पहिला । अहिले नेपाली फिल्म अलि रियलस्टिक बन्न थालेको छ

स्वास्थ्य र फिटनेसमा के फरक भएको छ । आफ्नो ख्याल कसरी राखिरहनुभएको छ ?

पहिला म राम्रो कसरत गर्थें । दुर्घटनापछि फिजियोथेरापी कसरत गर्न थालेँ । हिँड्न त मैले अझै पनि छोडेको छैन । दिनमा १ घण्टा हिँड्छु । सुटिडमा चाहिँ हिँड्ने अलि कम भको छ । अरु कसरत घट्यो ।

बस्न नमिल्ने, ढाड दुख्ने, पलेँटी कसेर बस्न नमिल्ने यस्ता केही चिजहरू गाह्रो छ । अरु भनेको खानपिनमा पनि हरेक कुराहरू कम हुँदै गयो । स्वाथ्यमा असर गर्ने खानेकुरा कम भयो । अब पहिला खेल खेल्थेँ त्यो हरायो नै भनम । खेल्ने फुर्सद पनि छैन । कसरत भने कम भएको छ ।

तपाईंले केही समय मान्छे नै नचिन्ने हुनुभएको थियो । पुराना कुरा बिर्सिनुभएको छ कि कस्तो छ ? मानसिक स्वास्थ्य कस्तो छ ?

स्मरणशक्तिका लागि भनेर अहिले पनि औषधि खाइरहेको छु । मैले धेरै कुराहरू सम्झिन नसक्दा औषधि खाएँ र अहिले धेरै कुराहरू सम्झिँदै पनि आको छु । मलाई एकजना संगीतकारको नाम सम्झिन एकरात लाग्यो । धेरै कुराहरू बिर्सन्छु । कहिले अनुहार बिर्सन्छु कहिले मान्छे बिर्सन्छु । सुरुमा त आफ्नै छोरीलाई पनि चिनिनँ तर मेरो साथी अनुपलाई भने चिनेछु । धेरै मान्छेलाई चिनिनँ, याद भएन, १५ दिन जति गाह्रो भयो । मेरो शुभचिन्तकहरू धेरै जना आउने भेट्ने, गीतहरू गाउने जे होस् हस्पिटलको बसाइ रमाइलो तरिकाले बिताएछु ।

साथीभाइ, शुभचिन्तकको साथ कस्तो रह्यो ?

मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूको प्रार्थनाको कारणले म बाचेँ जस्तो लाग्छ । सद्भाव धेरैको पाएँ । मलाई लिएर भाकल पनि राख्नुभएको थियो । दुर्घटना भएर मलाई हस्पिटल लगेपछि हाम्रो मेयर (पोखराका मेयर धनराज आचार्य)ले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएछ र त्यहीँबाट धेरैजनाले थाहा पाउनुभएछ । त्यसपछि त मलाई भेट्न आउनेको भीड थियो रे ! कतिजना हस्पिटलमा आएर रुनुभयो, मेरो लागि भगवान्सँग प्रार्थना गर्नुभयो । त्यही सद्भाव, मायाले नै बाँचेको हुँ जस्तो लाग्छ ।

त्यसपछिपछि जीवनप्रतिको दृष्टिकोणमा केही परिवर्तन भयो ? जीवनलाई कसरी हेर्नुभएको छ ?

मैले एकजना पत्रकारलाई भनेको थिएँ – मर्न धेरै सजिलो रहेछ जति गाह्रो बाँच्नलाई रहेछ । दुर्घटनापछि मैले सिकेको कुरा – मृत्यु सहज वा एकदम सजिलो रहेछ । मरेको भए धेरै सजिलो हुने थियो । बाँचेर अलि गाह्रो भएको महसुस भयो । यो मेरो सिकाइ भयो । बच्चादेखि अहिलेसम्ममा धेरै दुर्घटनाहरू भए । मृत्युसँग अलिअलि डर लाग्थ्यो पहिला तर त्यो दुर्घटनापछि मृत्यु सहज रहेछ भन्ने लाग्यो । मृत्यु भनेको संसारको दाल–भात खाए जस्तो रहेछ डराउनु नपर्ने रहेछ तर बाच्न चाहिँ गाह्रो रहेछ ।

दुर्घटनापछिको नयाँ सीपहरू सिक्नुभयो कि ?
खासै अब केही सिप सिक्ने उमेर पनि भएन । किन कि म ६० वर्ष कटिसकेँ । ६१–६२ वर्षमा के सिक्ने भन्ने भयो ।

अहिले कतै भेटिनेहरूले के भन्नुहुन्छ ?

अहिले पनि धेरै ठाउँहरुमा सुटिङमा जाँदा तपाईंलाई कस्तो छ भनेर सोध्नुहुन्छ । सुटिड गर्दा जहाँ–जहाँ गयो त्यहाँ थाहा पाएको रहेछन् भन्ने महसुस हुन्छ । उहाँहरूले तपाईलाई कस्तो छ भनेर सोध्नुहुन्छ ? मैले म ठिक छु भन्छु । जे होस वास्ता–माया गर्नुहुन्छ । खुशी लाग्छ ।


दुर्घटनाबाहेक अरु कुरा गरौं न । यहाँ नाटकबाट अभिनयमा प्रवेश गर्नुभयो । खास नाटकमा कसरी प्रेरित हुनुभएको थियो ?


म पहिला सानोदेखि हिन्दी फिल्महरू हेर्थें । म धेरै भारतीय अभिनेताबाट प्रभावित थिएँ पहिला । म माओत्से गुरुडको नाटकको जजबाट म प्रभावित भएको हो । हामीले उहाँलाई हाम्रो नाटक घरमा पनि खेलाइयो । बेस्ट एक्टर पनि भए । अहिले उनी निर्देशक पनि भएका छन् । हाम्रो अनुप बरालबाट पनि निकै प्रभावित भएको थिएँ । धेरै साथीहरूबाट प्रभावित भएँ भनम् न । नेपाली फिल्मबाट त्यति साह्रो प्रभावित भइनँ । नेपाली फिल्म अलि वास्तविक लाग्थेन पहिला । अहिले नेपाली फिल्म अलि रियलस्टिक बन्न थालेको छ ।


फिल्म क्षेत्रमा लाग्नु खासै मुख्य उदेश्य थिएन पहिला । अनुप बराल भन्ने साथी तर उमेरले मभन्दा सानो हुनुहुन्छ । उहाँको अभिनयप्रति जुन रुचि थियो । त्यसलाई सम्बोधन गर्छु भनेर नदिपुरमा सुवेदी क्बल गठन गरेका थियौँ । मेरो साथी दीपकराज शर्मा संस्थाको कोषाध्यक्ष रहेका उहाँले लेख्नु भएको नाटकमा मलाई निर्देशन गर्ने अवसर मिल्यो । त्यतिबेला म क्लबको अध्यक्ष थिएँ । हाम्रो क्लबले डाँफे कला मन्दिरलाई नाटक देखाउने भन्ने क्रममा अभिनय गर्न पुगेँ ।

त्यतिबेला भूमिकामा वृद्ध मान्छे पाउन गाह्रो थियो र त्यो रोलमा म खेल्न पर्ने भयो । त्यसपछि अभिनय गर्न लागेँ । नाटक गर्दै गएँ । फिल्म नगर्ने भन्ने कुरा थियो । पछि मेरो साथी अनुपले दलन भन्ने सिरियलमा अभिनय गर्न जोड गरेपछि फिल्ममा अभिनय गर्न थालेँ । मेरो शिक्षणमा असर नगर्ने तरिकाले अभिनय सुरु गरेँ । पछि फिल्म खेल्दा–ँखेल्दा यो क्षेत्र छोडनै सकिनँ ।

भूमिका छनोट गर्दा के–कस्ता कुराहरू विचार गर्नुहुन्छ ? विशेष केही छ ?


समाज परिवर्तन गर्ने लिडरको रुपमा भूमिका अभिनय गर्न मन पर्छ । सायद सामाजिक क्रियाकलापमा लाग्ने भएको भएर होला । कहिलेकाहीँ अलि बोल्ड भिलेनको रोल गर्न पाए नि हुनेजस्तो लाग्छ । जे पाइन्छ त्यो गर्छु । म आफैँ काम खोज्दै जाँदिनँ र आएको कामलाई ‘नो’ पनि भन्दिनँ । मान्छे मन पर्‍यो भने म फिल्म खेल्छु । तर कुनै फिल्मले फसाउँछ पनि । एकदम समय लगाउने, धेरै दिन लाग्ने हुन्छ । म यो काम रोज्छु रोज्दिनँ भन्ने छैन । आएको काम गर्छु । काम जुध्यो भने मात्र छोड्न पर्‍र्यो नत्र काम गर्न आउने प्रस्ताव मैले नाइ भन्दिनँ । उहाँहरूले भने जस्तै गर्दिने गरेको छु ।


नयाँ पात्रको तयारी कसरी गर्नुहुन्छ ?


हामीलाई रोल भन्नुहुन्छ । त्यसपछि होमवर्क गरिन्छ । पात्र अनुसार पात्रमा भिज्ने कोसिश गर्छु । पात्रको बारेमा हरेक कुराबाट बुझने कोसिश गर्छु । जस्तै पात्रको उमेर, जात, कला, पेशा, स्वभाव । कल्पना गर्छु त्यो पात्रको र मभित्रै मेरो पात्रसँग मिल्ने मान्छे खोज्छु । बुझ्छु ।

नेपाली फिल्म उद्योगमा यत्तिको समय बिताइसक्नुभयो । तपाईंले देखेका प्रमुख परिवर्तनहरु के–के हुन् ?


पहिला नेपालीहरू एकदम अस्वाभाविक लाग्थ्यो । मतलब फिल्महरू एकदम बनावटीजस्तै हुन्थ्यो । अहिले सत्य कथा होजस्तो बन्न थालेका छन् । अझै पनि कुनै–कुनै फिल्महरू बनावटी जस्तो नै हुन्छन् । फिल्म भनेको स्वाभाविक बन्नुपर्छ । जस्तो पात्र त्यस्तै ढल्किएको हुनुपर्छ । अहिले भएको पनि छ । यो चलचित्रमा भइरहेको परिवर्तन हो । मलाई मन पर्ने खालको परिवर्तन भएको छ । फिल्म भनेको एउटा जीवन देखाउनु हो । फिल्म हेर्दा दर्शकलाई महसुस हुन सक्नपर्छ ।


अनि उद्योगले सामना गरिरहेका चुनौतीहरु छन् ?
मेरो दुष्टिकोणमा भन्नुपर्दा हाम्रो नेपाली फिल्म क्षेत्रलाई फराकिलो बनाउनुपर्छ । किनकि हाम्रो सबैभन्दा महत्वपूर्ण चिज भनेको नै दर्शक हुनुहुन्छ । जस्तै फिल्ममा सबटाइटल राख्दियो भने अन्तरर्राष्ट्रिय रुपमा हेर्न सकिन्छ । फिल्म क्षेत्रलाई ग्लोबलाइसेजन गर्न सके पनि धेरै राम्रो हुन्थ्यो ।

तपाईको प्रतिक्रिया