नेपाली सिनेमाको प्रगति मल्टिप्लेक्स हलसँग जोडिएको छ: निकेश द्वा

सुरक्षा श्रेष्ठ, पोखरा ।
निकेश द्वा पोखराका एक युवा व्यवसायी हुन् । हजुरबुबाले थालनी गरेको व्यवसाय नाती पुस्ताले अगाडि बढाइरहेका छन् । उनको हजुरबुबा स्वर्गीय जीतप्रसाद द्वाले पोखरामा सिनेमा हलको व्यवसाय सुरु गरे । सिंगल थिएटरबाट सुरु भएको सिनेमा व्यवसायको क्षेत्र आज मल्टिप्लेक्समा परिणत भएको छ । सन् २००६ मा श्रीकृष्ण चलचित्र मन्दिरको स्थापना हुँदा सायदै द्वा परिवारले सिनेमाको व्यवसाय मल्टिप्लेक्स आजको मिडटाउन ग्यालेरियामा परिणत हुन्छ भन्ने सोचेका होलान् । तर समयानुसार द्वा परिवार अगाडि बढेको छ ।
एसी इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेशन विषयमा मास्टर्स गरेका निकेशले हाल मिडटाउन सिनेमा र मिडटाउन ग्यालेरियाको जिम्मेवारी सम्हालिरहेका छन् । व्यवसायीक क्षेत्रमा उनको दखलता बढ्दो छ । मनोरञ्जन सँगै रियलस्टेट, कपडा र बैंकिङ क्षेत्रमा समेत लगानी छ । व्यवसायिक क्षेत्रमा एक पछि अर्को फड्को मारिरहेका निकेशसँग खासगरी मनोरञ्जन क्षेत्रको व्यवसायको रुपान्तरणका विषयमा पत्रकार सुरक्षा श्रेष्ठले अन्तर्वार्ता लिएकी छिन् ।
सिंगल थिएटरलाई मल्टिप्लेक्समा रूपान्तरण गर्ने निर्णय कसरी गर्नुभयो ? यसका मुख्य प्रेरक कारणहरु के थिए ?
सिंगल थिएटरबाट मल्टिप्लेक्समा जाने हाम्रो योजना खासै केहि थिएन । यो त समयको माग थियो र रुपान्तरित भएका हौं । बजारको माग अनुसार सिंगल थिएटरले मल्टिप्लेक्सको स्वरुप पाएको हो । दर्शकको सुविधालाई ध्यान दिँदै लगानी गरिएको हो । मुख्य प्रेरक भनेकै हाम्रा दर्शक र ग्राहक हुनुहुन्छ ।
यो रूपान्तरणको प्रक्रिया कति चुनौतीपूर्ण थियो ? यसमा मुख्य समस्याहरू के के आए ?
हाम्रो परिवारको म तेस्रो पुस्ता हुँ । मेरो हजुरबुवाको समयबाट सुरु भएको उक्त व्यवसाय आज मल्टिप्लेक्समा आएको हो । तेस्रो पुस्ताको व्यक्ति भएकाले पनि होला खासै चुनौति खेप्नुपरेन । परिवारमा नै सिनेमा हल सञ्चालनको अनुभव भएकाले सहज स्थिति भयो । खासमा म हाम्रो परिवारले थालनी गरेको व्यवसायलाई नयाँ स्वरुप दिन चाहन्थे । फलस्वरुप एउटा सिनेमा हल मात्रै भन्दा पनि व्यवसायिक स्टकचर सहितको भवन जहाँ मनोरञ्जन क्षेत्रको व्यवसायलाई समेत समावेश गर्न सकिन्छ भन्ने हेतु उक्त व्यवसाय गरिएको हो ।
आर्थिक लगानी र समयको दृष्टिकोणबाट यो रूपान्तरण कसरी सम्भव भयो ?
भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय । हामीले मनोरञ्जन क्षेत्रको व्यवसायलाई परिमार्जित स्वरुप दिन खोज्यौं । योजना त्यसै अनुरुप बन्यो र हामीलाई बैंकिङ क्षेत्रबाट सहयोग मिल्यो । हाम्रो योजनालाई वित्तिय संघसंस्थाहरुले पूरा गर्न साथ दिए । देश विदेश घुमेर आएका दर्शकको अपेक्षा त्यसै अनुरुप हुन्छ । फलस्वरुप पोखरामा पनि सम्पन्न सहितको सिनेमा हलको व्यवस्थापन गर्ने उद्देश्य सहित काम भयो ।
सिंगल थिएटरका ग्राहकहरू र मल्टिप्लेक्सका ग्राहकहरूको प्राथमिकतामा के फरक अनुभव गर्नुभएको छ ?
सिनेमा हलमा सिनेमा हेर्ने विकास सिंगल थिएटर बाट नै भएको पाइन्छ । पैले हामीले पनि हेर्यौं । सिमित बजेट लिएर सिंगल थिएटर छिर्ने दर्शकहरु आज पनि हुनुहुन्छ । मल्टिप्लेक्समा सिंगल थिएटर भन्दा अलिक बढी शुल्क तिर्नुपर्ने हुन्छ । पछिल्लो समय सिंगल थिएटर विस्थापित पनि नभएका होइनन् । हामीले नै संचालन गरेका विन्ध्यावासिनी सिनेमा हल, बाराही क र ख, श्रीकृष्ण सिनेमा हलमा अहिले श्रीकृष्ण मात्रै संचालनमा छ । जसको व्यवस्थापनका लागि भाडामा दिएका छौं । मान्छेको आवश्यकत्ता र रुचीले फरकपन पाउँदै मल्टिप्लेक्समा ग्राहकको प्राथमिकता बढेको पाइन्छ ।
मिडटाउन सञ्चालन गर्दा सिंगल थिएटरको तुलनामा के के फरक महसुस गर्नुभयो ?
ग्राहकको अपेक्षालाई मध्यनजगर गर्दै मिडटाउन संचालनमा आएका हो । एकै ठाउँमा मनोरञ्जन सहित सपिङ र फूडको व्यवस्थापन गर्ने लक्ष्य हामीले लिएका हौं । सिङ्गल थिएटरमा अलिक बढी सिट संख्या हुन्थ्यो भने मल्टिप्लेक्समा संख्यात्मक हिसाबले सिट कम छ । साउण्ड, लाइटिङ, डेकोरेसन सबै फरक छ । एकै ठाउँमा धेरै सुविधा पाउने भएकाले पनि दर्शकको रोजाई मल्टिप्लेक्स भएको पाउँछु ।
ग्राहक अनुभवलाई सुधार गर्न तपाईले के के नयाँ प्रविधिहरू वा सेवाहरू समावेश गर्नुभयो ?
पछिल्लो नयाँ प्रविधिलाई आत्मसात् गर्दै मिडटाउन सिनेमा हल निर्माण गरिएको छ । स्क्रिन, साउण्ड, हल डिजाइनमा नौलोपन दिन खोजिएको हो । अन्तर्राष्ट्रिय सिनेमा हलमा भएका सुविधाहरुलाई सुलभ मुल्यमा प्रदान गर्न खोजिएको छ । ब्राण्डलाई स्थापित गर्दै समयानुसार चलेका हौं । व्यवस्थित र सुविधा उपलब्ध गराउने हेतु ग्राहक अनुभवलाई फरक बनाउन खोजिएको हो ।
स्थानिय दर्शकहरूको साथसाथै अन्तर्राष्ट्रिय सिनेमा दर्शकलाई आकर्षित गर्न तपाईले के उपाय गर्नुभएको छ ?
हामीले स्थानीय र अन्तर्राष्ट्रिय दर्शक भनेर छुट्टाउदैनौं । स्थानीय र अन्तर्राष्टिय सबै दर्शकका लागि सुविधा एउटै छ । फरक भनेको नेपाली सिनेमाहरुमा सबटाइटलको प्रयोग अलिक कम भएको पाइन्छ । सब टाइटल भयो भने मात्र अन्तर्राष्ट्रिय दर्शकहरुको पनि उपस्थिति हुन्थ्यो । पोखरा घुम्न आएका विदेशी पर्यटक हलमा नेपाली सिनेमा हेरेर रमाउँथे भन्ने हो । विस्तारै त्यो पनि होला । दर्शकको चाहनानुसार नै अगाडि बढिएको छ ।
सिंगल थिएटरबाट मल्टिप्लेक्समा बदल्दा स्थानिय समुदायको प्रतिक्रिया कस्तो रह्यो ?
सुरुमा त मूल्यमा फरक आएपछि ओहो यति मंहगो भन्ने थियो । पछि यसमा सुधार भयो । मल्टिप्लेक्सको अवधारणालाई दर्शकले बुझ्दै जानुभयो ।
आजको डिजिटल युगमा ओटीटी प्लेटफर्महरूले सिनेमा हललाई चुनौती दिइरहेका छन् । यससँग कसरी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?
यो प्रश्न सबैभन्दा उठ्न थालेको भनेकै कोभिडको बेलामा थियो । ओटीटी आयो अब मान्छेहरु फिल्म हेर्न सिनेमा हल आउँदैनन् भन्ने चिन्ता थियो । तर पछि त्यस्तो भएन । ओटीटीलाई एउटा प्लाटफर्मका रुपमा दर्शकले बुझे । त्यहि पनि सिनेमा रिलिज हुनेबित्तिकै ओटीटीमा आउँदैन । हलमा हेर्ने दर्शकका लागि ओटीटी प्रभावकारी नहुन सक्छ । तर ओटीटी नराम्रो भन्न खोज्या पनि होइन । सिनेमा हलमा हुने स्क्रिन र साउण्डले नै ओटीटी प्लाटफर्मसँग प्रतिस्पर्धा गरिरहेको छ । सिनेमा हलमा सिनेमा हेरेजस्तो मज्जा ओटीटीमा दर्शकलाई नहुन सक्छ ।
आगामी वर्षहरुमा मल्टिप्लेक्सलाई अझै सुधार गर्न तपाईको रणनीति के छ ?
हाम्रो हलहरुमा सुधार भइरहेको हुन्छ । भर्खरै मात्रै हामीले हलको सबै कार्पेट परिवर्तन गरेका छौं । नयाँ प्रविधिअनुसार चलेका छौं । मिडटाउन सिनेमालाई अझ परिस्कृत गर्दै यसको शाखा विस्तारमा पनि जाने कि भन्ने सोचमा छौं । त्यसका लागि बुटवलमा योजना बन्दै छ ।
भविष्यमा तपाईले थप स्थानहरुमा मल्टिप्लेक्स विस्तार गर्ने योजना बनाउनु भएको छ ?
योजनामा छौं । अघि पनि भने बुटवलका लागि पहिलो चरणमा तयारी हुँदैछ । पोखराका अन्य ठाउँमा पनि खोल्ने कि भन्ने छ । भैरहवा, नारायणगढ र सिनेमा सिटी जहाँ दर्शकको चाँसो र अपेक्षा छ त्यसको अध्ययन अनुसार संचालन गर्ने छौं ।
तपाईको विचारमा नेपाली सिनेमा उद्योगलाई प्रवर्द्धन गर्न मल्टिप्लेक्सहरूले कसरी भूमिका खेल्न सक्छन् ?
नेपाली सिनेमालाई प्रभावकारी बनाउन मल्टिप्लेक्स सिनेमा हलको भूमिका महत्वपूर्ण छ । सिस्टम अब प्रविधिमैत्री भएको छ । हिजो व्यक्तिको भरमा संचालनमा आएको सिनेमा घरहरु अब प्रविधिबाट संचालन हुन्छन् । जसले गर्दा सिनेमा हलहरुको व्यवसायका विषयमा सिनेमा उद्योगहरुले सहजै थाहा पाउन सक्छन् । सिनेकर्मीहरुले घाटा बेहोर्नुपर्ने स्थिति सिर्जना हुँदैन । बक्स अफिस अवधारणाले सिनेमाको व्यापारलाई फरक बनाएको छ । राम्रा सिनेमाहरुले मल्टिप्लेक्समा राम्रो व्यापार पनि गरेका छन् । त्यसैले मेरो विचारमा सिनेमा उद्योग राम्रो बन्न सिनेमा नै राम्रो बन्नुपर्छ ।
यो यात्रामा सबैभन्दा प्रेरणादायी अनुभव कुन रह्यो ?
मलाई चाहिँ हाम्रो व्यवस्थापन टीमको गतिशिलता र आउटपुट हेर्दा एकदम प्रेरणादायी लाग्छ । आज हामी जहाँ छौं हाम्रो टीमका कारण छौं । टीमवर्क राम्रो भयो भने सबै राम्रो हुन्छ भन्ने विश्वास मेरो हो ।
तपाईका लागि व्यवसायिक सफलता मात्र हो, कि दर्शकहरूलाई सिनेमा हेर्नको लागि फरक अनुभव दिनु नै मुख्य लक्ष्य हो ?
म आफुले आफुलाई प्रबन्ध निर्देशक वा हलवाला भन्दा पनि व्यवस्थापक भनेर हेर्छु । मलाई लाग्छ जहिले पनि ग्राहकहरुलाई सन्तुष्ट गर्न सकियो भने व्यवसायिक रुपमा यसै पनि सफल हुन सकिन्छ । महत्वपूर्ण कुरा भनेको नै हामीले हाम्रो सेवामा ध्यान दिन सक्नु हो । दर्शकहरुलाई सिनेमा हेर्नका लागि फरक अनुभव उपलब्ध गराउन सक्नु नै हाम्रो सफलता हो ।







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया