आहारारा पोखरा गोल्ड कप

कीर्तिमान कायम गर्ने होड

धनबहादुर गुरुङ २०८१ फागुन २ गते १९:५६

पोखरा । नेपाली फुटबल इतिहासमा सहारा क्लबले मोफसलका प्रतियोगितामा कीर्तिमान कायम गरेको छ । बुधबारको खेल सकिँदासम्म प्रतियोगिताका खेलको संख्या २ सय ५१ पुगेको छ । यो मोफसलमा हुने प्रतियोगितमा सबैभन्दा धेरै हो ।

Advertisement

सहाराले पहिलो सेमिफाइनल खेल हुनुअघि २ सय ५० औं खेललाई बेलुन उडाएर ‘सेलीब्रेट’ गरिसकेको छ । शनिबार हुने २५२ औं खेल हो । यो २४ औं संस्करणलाई बिट मार्ने फाइनलसमेत हो । जहाँ भीड्दैछन्, अहिलेसम्मकै सबैभन्दा सफल टिम नेपाल पुलिस क्लब र उज्वेकिस्तानबाट पहिलोपटक आएको ब्ल्याक बुल्स एफसी ।

यसपालि जुन टिमले जिते पनि नयाँ कीर्तिमान बन्नेछ । सहारा क्लबको आयोजनामा २०५८ मा क्याराभान गोल्डकपको नामबाट सुरु भएको प्रतियोगिता २०८० सम्म आइपुग्दा ८ टिमले उपाधि जितेका छन् । जसमा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब समान ६ पटक च्याम्पियन भएका छन् । अर्को क्लब थ्रीस्टारले ५ टाइटल जितेको छ । संकटा क्लबले २, सहारा क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब र अफ्रिकन युनाइटेडले समान १ पटक उपाधि पोल्टामा पारेका छन् ।

पुलिसले जितेमा सातौं पटक च्याम्पियन बन्ने पहिलो टिम ठहरिनेछ भने ब्ल्याक बुल्सले जिते पहिलो सहभागितामै विजेताको कीर्तिमान बन्ने छ

सर्वाधिक उपाधि जित्ने पुलिस ११ औं पटक फाइनल पुग्ने टिम हो । मनाङ मस्र्याङ्दीले भने यसअघि नै १२ पटक फाइनल खेलेको थियो । पुलिसलाई यो पटकको फाइनल जित्दै कीर्तिमान रच्ने अवसर छ । पुलिसले जितेमा कीर्तिमानी ७ पटक उपाधि जित्ने क्लब बन्नेछ ।

Advertisement

ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै च्याम्पियन बन्ने टिम हुनेछ । र, प्रतियोगिताले उपाधि जित्ने अर्कोे नयाँ क्लब पाउनेछ । विदेशबाट आएर प्रतियोगिता खेल्दै उपाधि जित्ने दोस्रो टिम पनि बन्नेछ । जुन टिम च्याम्पियन बन ेपनि आहारारा पोखरा गोल्डकपका लागि विशेष हुने निश्चित छ ।

१२ टोली सहभागी यो संस्करणमा दोस्रो सेमिफाइनलसम्म १० खेलपछि पुलिस र ब्ल्याक बुल्स उपाधि होडमा पुगेका हुन् । शुक्रबार भएको प्रिम्याच कन्फेरेन्समा पुलिस र ब्ल्याक बुल्स दुवै टिम उपाधि जित्नेमा विश्वस्त देखिन्थे । दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयारी राम्रो गरिरहेको बताए ।

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले फाइनल खेल जित्ने सम्भावना ५० प्रतिशत हुने बताए । उनले पुलिस टिमको खेल हेरेकाले सोही अनुसार योजना बनाएरअघि बढ्ने सुनाए । पुलिसमा स्टार खेलाडी नरहे पनि फास्ट गेम रहेकाले आफू सोही अनुसार टिमको रणनीति बनाउन लागेको उनको भनाइ छ । ‘फाइनल खेल सधैँ ५०–५० हुन्छ । फाइनलका लागि तयार छौं र राम्रो गर्ने प्रयास गर्ने छौं’, उनले भने, ‘पुलिस फास्ट र टेक्निकल्ली गेम खेलिरहेका छन् । फाइनल खेल राम्रो हुनेछ ।’

ब्लयाक बुल्सका कप्तान जाखोनजिरले फाइनलका लागि तयार रहेको र राम्रो खेल हुने उल्लेख गरे । पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि मानसिक र शारीरिक रूपमा तयार रहेकाले सातौं पटक च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा जाने बताए । नयाँ खेलाडी भए पनि फाइनलका लागि तयार रहेको उनको प्रतिक्रिया छ । उज्वेकिस्तानको टिम टेक्निकल्ली र ट्याक्टिकल्ली राम्रो रहेकाले आफ्ना टिमको युवा खेलाडीमा विश्वास रहेको उनले सुनाए ।

पुलिसका कप्तान राम वाजीले उपाधि टिमका लागि महत्वपूर्ण रहेको बताए । उनले भने, ‘पहिला पुलिसका स्टार खेलाडी थिए । अहिले फेरिएको छ । नयाँ खेलाडी छन् तर युवा जोश छ । चुनौती छ तर हामी तयार छौं । इतिहास बनाउने अवसर छ ।’ केही खेलाडी राष्ट्रिय टिमको क्लोज क्याम्पमा भए पनि बेन्चका खेलाडी पनि राम्रो रहेको उनको भनाइ छ ।

फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ । प्रतियोगिताका विजेताले नगद १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले स्कुटर पाउने छन् भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया