अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको लगानीमा पदमार्ग स्तरोन्नति

समाधान संवाददाता २०८२ असार ९ गते २०:२७

जोमसोम ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका ३ स्थित लेते कालोपानीदेखि धुलो डाँडासम्मको जीर्ण पर्यटकीय पदमार्गको स्तरोन्नति गरेको छ । ‘नयाँ पदमार्ग पहिचान तथा स्तरोन्नति’ शीर्षक अन्तर्गत चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार विनियोजित १५ लाख रुपैयाँ बजेटबाट सो पदमार्ग स्तरोन्नति गरिएको हो ।

एक्याप अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेको समन्वयमा करिब ३ सय ५५ मिटर रहेको पदमार्ग स्तरोन्नति गरिएको जानकारी एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले दिए । यसअघि सो पदमार्ग केवल गोरेटोको रूपमा प्रयोगमा रहँदै आएको थियो ।

Advertisement

धुलो डाँडा—जोमसोम क्षेत्रको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिने यस स्थानलाई विशेष प्राथमिकतामा राख्दै पदमार्ग स्तरोन्नति गरिएको हो । सो पदमार्गको स्तरोन्नतिको क्रममा गोरेटोलाई फराकिलो पारिएको, छपनी ढुंगा बिछ्याइएको, फलामे रेलिङ जडान गरिएको र जोखिमयुक्त स्थानहरूमा सुरक्षा पर्खाल (प्रोटेक्सन वाल) निर्माण गरिएको एक्यापले जनाएको छ ।

संरक्षण सहायक ओलीका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गर्दै नयाँ पदमार्गको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले स्तरोन्नतिको काम गरिएको हो । कालोपानीदेखि धुलो डाँडा पुग्न पैदल यात्रामा करिब ४५ मिनेट लाग्छ । बेनी–जोमसोम सडकमार्ग नजिकै भएकोले छोटो दूरीको पदमार्गका रूपमा यसलाई पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनाउने योजना एक्यापको छ ।

Advertisement

धुलो डाँडाबाट लेते कालोपानी बजार, हरियाली वनजंगल, कालिगण्डकी करिडोर, आसपासका डाँडा–काँडा, विभिन्न जातिका चराचुरुंगी र लालीगुराँसको फूलले ढकमक्क हुने प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । एक्याप जोमसोमले पदमार्ग स्तरोन्नतिको साथै पर्यटकीय पदमार्गहरूको मर्मत–सम्भार, सरसफाइ र साइन पोष्टिङजस्ता कार्यहरू समेत गर्दै आएको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

हालैका वर्षहरूमा अन्धाधुन्ध सडक विस्तारले मुस्ताङका पुराना पदमार्ग मासिँदै गएका सन्दर्भमा नयाँ पदमार्गको निर्माणले पदयात्रा गर्न चाहने पर्यटकलाई सहज हुने विश्वास एक्यापले लिएको छ । अभियानले पर्यटकीय पदमार्गहरूको संरक्षण र प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया