‘टुर दी पोखरा’ को ८ औं संस्करण पुसको पहिलो शनिबार हुने

समाधान संवाददाता २०८२ असार २६ गते १७:४६

पोखरा । साइकल सिटी पोखराले आठौं संस्करणको ‘टुर दी पोखरा’ साइकल र्‍याली आगामी पुसको पहिलो शनिबार गर्ने भएको छ । साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले कार्यक्रम घोषणा गर्दै नयाँ वर्षको महोत्सवसँग जुध्ने भएकाले यसपालिको र्‍याली केही अगाडि सारिएको जानकारी दिए । ‘विगतमा नयाँ वर्षको महोत्सवसँग कार्यक्रम जुध्ने गरेको मेयर धनराज आचार्यको सुझावलाई मनन गर्दै हामीले र्‍यालीलाई पुसमा सार्ने निर्णय गरेका हौं,’ उनले भने ।


श्रेष्ठले इन्धन खर्च नहुने, स्वास्थ्य तथा वातावरणमैत्री हुने भएकाले साइकलको महत्व दिनानुदिन बढ्दै गएको बताए । ‘हामी टुर दी पोखरा लाई पोखराको ब्रान्ड बनाउन र सहरलाई साइकल सिटीका रूपमा अघि बढाउन प्रयत्नरत छौं,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा साइकल सिटी पोखराका वरिष्ठ सल्लाहकार आनन्दराज मुल्मीले ‘टुर दी पोखरा’ लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यमा आफूहरू क्रियाशील रहेको बताए । ‘साइकल सिटी जीवन्त राखिए मात्रै पोखरा पनि जीवन्त रहन्छ,’ उनले भने ।

Advertisement

त्यसैगरी सल्लाहकार तथा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले प्रभावकारी नेतृत्वकै कारण ‘टुर दी पोखरा’ अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्ड बन्न सफल भएको बताए । उनले नेपालका लुकेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार साइकल र्‍यालीमार्फत् गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नवआगन्तुक आजीवन सदस्यहरूलाई स्वागत गरिएको थियो । सदस्यहरूलाई साइकल सिटी पोखराको लोगो अंकित जाकेट, लोगो र टोपी प्रदान गरिएको थियो । नवआगन्तुक आजीवन सदस्य लिनेमा प्रकाश ज्ञवाली, अमृत श्रेष्ठ, चिन्तामणि बास्तोला, लक्ष्मणप्रसाद बराल, मनबहादुर भण्डारी, रविचन्द्र ओझा मनोजकुमार श्रेष्ठ लगायत हुन् ।

Advertisement

अध्यक्ष श्रेष्ठका अनुसार हालसम्म साइकल सिटी पोखराका आजीवन सदस्य संख्या ९८ पुगेको छ । उनका अनुसार संस्थामा साधारण सदस्य नरहेको र सबै आजीवन सदस्यता लिइसकेको जानकारी दिए । कार्यक्रममा साइकल सिटी पोखराका उपाध्यक्ष दीपक कार्कीले स्वागत गरे भने सञ्चालन सचिव रामचन्द्र भट्टले गरेका थिए ।

तपाईको प्रतिक्रिया