माछापुच्छ्रेमा नागरिकता सिफारिस निशुल्क

समाधान संवाददाता २०८२ साउन १ गते ७:३२

पोखरा।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आफ्ना नागरिकहरूलाई ठूलो राहत दिने निर्णय गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ देखि नयाँ नागरिकता र त्यसको प्रतिलिपि सिफारिस पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने भएको हो।

Advertisement

गाउँपालिकाको १७ औं गाउँसभाले ‘आर्थिक विधेयक, २०८१’ पारित गर्दै यो महत्वपूर्ण निर्णय गरेको हो। यस निर्णयसँगै अब माछापुच्छ्रेका बासिन्दाले नागरिकता सिफारिसका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले एक परिपत्र जारी गर्दै गाउँपालिका मातहतका सबै नौ वटै वडा कार्यालयहरूलाई (वडा नं. १ देखि ९) सोही बमोजिम कार्यन्वयन गर्न निर्देशन दिएका छन् । २०८१ असार ३२ गते जारी गरिएको सूचनामा गाउँसभाको निर्णयअनुसार आगामी साउन १ गतेदेखि यो व्यवस्था लागू गर्न भनिएको छ।

Advertisement

यो निर्णयले नयाँ नागरिकता बनाउने वा हराएको/च्यातिएको नागरिकताको प्रतिलिपि बनाउन चाहने स्थानीय बासिन्दालाई आर्थिक भार कम हुनेछ। स्थानीय सरकारको यो कदमलाई नागरिकमैत्री र सराहनीय मानिएको छ।

तपाईको प्रतिक्रिया