आँधीखोला अध्यक्षको स्वघोषणा: ३ वर्षमा तलबबाहेक एक पैसा पनि लिइनँ

पोखरा ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आफ्नो तीनवर्षे कार्यकालमा राज्यबाट तोकिएको तलबबाहेक एक पैसा पनि अतिरिक्त सुविधा नलिएको सार्वजनिक स्वघोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत आम नागरिकलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकाललाई ‘खुल्ला किताब’ सँग तुलना गर्दै आर्थिक र पदीय स्वच्छताको प्रतिबद्धता जाहेर गरेका हुन् ।
आफ्नो स्वघोषणामा अध्यक्ष पौडेलले प्रचलित ऐन, कानुन र नीति-नियम बाहिर गएर कुनै पनि अख्तियार दुरुपयोग नगरेको दाबी गरेका छन् । उनले भनेका छन्, “यो तीन वर्षको अवधिमा पालिकाबाट एक पैसा पनि भ्रमण भत्ता (TADA), कार्यपालिका बैठक भत्ता, प्लेन टिकट वा अन्य कुनै अतिरिक्त वा विविध खर्च लिएको छैन ।”
उनले राज्यलाई अतिरिक्त भार पर्ने गरी आफ्नो सचिवालय, निजी सचिव, सहयोगी, भान्से, सल्लाहकार वा विज्ञजस्ता कुनै पनि पद सिर्जना नगरेको र त्यसबापत कतैबाट भुक्तानी नभएको समेत स्पष्ट पारेका छन् ।
सपथग्रहण गरेदेखि नै हरेक आर्थिक वर्षको अन्त्यमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै आएको स्मरण गराउँदै पौडेलले आफू पूर्ण पारदर्शी, जवाफदेही र उत्तरदायी रहेको बताए । उनले भने, “काम कति गर्न सकेँ, त्यसको मूल्याङ्कन गर्ने जिम्मा आम आँधीखोलाबासीको हो, तर मैले कसैको केही बिगारेको छैन भन्नेमा विश्वस्त छु ।”
सबैका माग र चाहना पूरा गर्न असम्भव भए पनि इमान, सद्भाव र सेवाभावलाई कहिल्यै नछाडेको उनको भनाइ छ । आगामी दिनमा पनि मनमा कुनै लोभ, घमण्ड वा स्वार्थ नलिई जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले प्राप्त सहयोगका लागि सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया