अन्नपूर्णको सार्वजनिक सुनुवाइमा जनगुनासोको चाङ

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले विकास योजनामा भइरहेको ढिलासुस्ती, पारदर्शिताको कमी र जनप्रतिनिधिको भूमिकाप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । वडा कार्यालय अगाडि लामो समयदेखि सिमेन्टका बोराहरू बेवारिसे अवस्थामा थन्किएकोदेखि सार्वजनिक जग्गाको सदुपयोग नभएकोसम्मका गुनासा राख्दै स्थानीयले पालिकाको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
बुधबार आयोजित आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइमा स्थानीय डण्डपानी भण्डारीले आक्रोश पोख्दै भने, “वडा कार्यालय अगाडि सिमेन्ट थन्किएको महिनौं भइसक्यो, तर विकासका काम अघि बढ्दैनन्। जनप्रतिनिधिको उपस्थिति पनि पातलो छ।” उनले विकास योजनामा देखिएको ढिलासुस्ती र लापरबाहीले जनतामा निराशा छाएको बताए। त्यसैगरी, अर्की स्थानीय मुना भण्डारीले सार्वजनिक जग्गाहरू उपयोगविहीन हुँदा पालिकाको स्रोत व्यवस्थापनमा कमजोरी देखिएको बताइन्। उनले पालिकालाई उपलब्ध स्रोतको उचित व्यवस्थापन र उपयोगमा ध्यान दिन आग्रह गरिन्।

कार्यक्रममा सहभागी मनहरी भण्डारी, जोमाया देवकोटा, ऋषिराम भण्डारी लगायतले पनि चिकित्सकको अभाव, बजेटको अपारदर्शी उपयोग, पूर्वाधार निर्माणमा मापदण्डको कमी र लक्षित वर्गका कार्यक्रम प्रभावकारी नभएको जस्ता विषयमा गुनासो राखेका थिए।
जनगुनासोको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले स्रोत र कानुनी सीमाभित्र रहेर काम गरिरहेको दाबी गरे। उनले उठेका गुनासाहरूलाई गम्भीरतापूर्वक लिएको र समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष केसीले रोकिएका भवन निर्माणको काम चाँडै शिलान्यास गरिने, साना व्यवसाय प्रवर्द्धन (MEDPA) र सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमबाट रोजगारी सिर्जना भइरहेको र सामुदायिक विद्यालय सुधारमा पालिकाले लगानी बढाएको जानकारी दिए।
उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि नयाँ योजना ल्याउने बताउँदै प्राप्त गुनासाहरूको व्यावहारिक समाधान खोजिने विश्वास दिलाइन्।
त्यसअघि, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार’ नारासहितको चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनअनुसार पालिकाले हालसम्म १ करोड ८८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ भने टेन्डर भएका ८ मध्ये ७ वटा प्राविधिक योजना सम्पन्न भएका छन्।
पत्रकार सागर ढकालले प्रस्तुत गरेको सेवाग्राही सन्तुष्टि सर्वेक्षणमा भने अधिकांश स्थानीय पालिकाको सेवा प्रवाहप्रति सामान्यतः सन्तुष्ट देखिएको र कर्मचारीको व्यवहार सकारात्मक रहेको पाइएको थियो।
कार्यक्रममा अन्नपूर्ण–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले स्वागत र पत्रकार इन्द्रप्रसाद पौडेलले सहजीकरण गरेका थिए। जनगुनासोलाई सम्बोधन गर्दै पालिकाले आगामी नीति तथा कार्यक्रममा सुधार गर्ने प्रतिबद्धता जनाएपछि कार्यक्रम सम्पन्न भएको थियो।









निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया