कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट

पोखरा।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् ।
पोखरा थिएटरले नेपाली साहित्यका वरिष्ठ स्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गरे ।

उनले भने, ‘आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो । यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला–साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’
यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट पनि विभिन्न प्रयासहरू भएको पाएको बताउँदै उनले गण्डकीको राजधानी पोखरा सहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थिएटरले निरन्तर कर्म गरिरहेकोमा खुसी व्यक्त गरे ।
यहाँ नाटक, संगीत, नृत्य, कविगोष्ठीलगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएकाले पोखरामा सांस्कृतिक उत्सवहरूको वातावरण निर्माणमा यहाँका कलाकारहरूको सिर्जनात्मकता र व्यावसायिकता विकास गर्न यसले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
कवि एवं साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उनकै सम्मुख ‘हिउँमा नलेखिएका तीर्थ — पाँच आयामका साथ’ आयोजित यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गरे ।
पोखरा थिएटरका प्रमुख कार्यकारी अधिकृत मोतीबहादुर कार्की (परिवर्तन) को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उनका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया