प्रेस युनियनको महाधिवेशन २०८३ जेठमा हुने, वर्तमान कार्यसमितिको कार्यकाल थप

समाधान संवाददाता २०८२ साउन ४ गते १९:३८

काठमाडौं। नेपाल प्रेस युनियनले वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल थप गर्दै २०८३ जेठभित्र १०औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसअघि युनियनको विधानलाई समयानुकूल परिमार्जन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गरिने भएको छ।

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले विशेष परिस्थितिलाई ध्यानमा राख्दै कार्यकाल थप गर्ने निर्णय गरेको हो। ३ वर्षे अवधिमा विभिन्न सांगठनिक गतिविधि, सम्मेलन तथा निर्वाचनमा व्यस्त हुनुपरेकाले महाधिवेशन केन्द्रित हुन समय अभाव भएको बैठकको ठहर छ।

विधान संशोधनका लागि मस्यौदा तयार गर्न युनियनले वरिष्ठ उपाध्यक्ष प्रेम केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिमा उपाध्यक्षहरू सलोजा दाहाल, जीवन भण्डारी, डा. मुरारी अधिकारी, अनिलकुमार कर्ण, उपमहासचिव युवराज गौतम, सुलोचना गौतम, अभय राई तथा सचिवहरू र केन्द्रीय सदस्यसहित १५ जना छन्।

Advertisement

महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। जसअनुसार, साउन १५ देखि कात्तिक २१ गतेसम्म एक सय दिने विशेष अभियान सञ्चालन गरी सदस्यता नवीकरण तथा वितरण गरिनेछ।

बैठकले सञ्चार माध्यममा प्रकाशित समाचारको तथ्य जाँच नगरी समाचार हटाउन अदालतले दिने अन्तरिम आदेश संवैधानिक मर्मविपरीत भएको ठहर गरेको छ। समाचारका विषयमा विद्युतीय कानुन आकर्षित नगरी प्रेस काउन्सिल ऐनअनुसार न्यायिक प्रक्रियामा जान युनियनले आग्रह गरेको छ। साथै, सम्पूर्ण सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता अनिवार्य पालना गर्न पनि भनिएको छ।

Advertisement

यसैगरी, युनियनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि र पेसागत सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित, पारदर्शी र वृद्धि गर्न तथा अनलाइन सञ्चारमाध्यमलाई समेत उपलब्ध गराउन माग गरिएको छ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनुशासन उल्लंघन गरेका कारण कारबाहीमा परेका सदस्यले आत्माआलोचनासहित निवेदन दिएमा कारबाही फुकुवा गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि भएको छ।

बैठकले पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई व्यवस्थित गर्न नीति बनाउन सरकारलाई आग्रह गर्ने र युट्युबलगायत सामाजिक सञ्जालको पत्रकारितालाई मर्यादित बनाउन पहल गर्ने निर्णय गरेको छ। साथै, पत्रकार कल्याणकारी कोष स्थापना गर्न कोषाध्यक्ष माधव धितालको संयोजकत्वमा समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया