पञ्चायतका हक्की नेता अम्बिकाको योगदान समेटिएको पुस्तक लोकार्पण

पोखरा ।
स्याङ्जा झारखोलाको हुनेखाने परिवारमै जन्मेका अम्बिकाप्रसाद पौडेलको अलि बिद्रोही स्वभावका थिए । आफ्नो विद्रोही स्वभावलाई उनले समाज रुपान्तरणमा प्रयोग गरे । त्यसो त पञ्चायतकालमा आँधिखोलाको सिरानतिर अम्बिका र बीचतिर शोभाकान्त अर्यालहरुको दबदबा थियो । भर्खर राणा शासनको दबदबाबाट मुलुकले मुक्ति पाएपछि सबैभन्दा खड्केको विषय थियो शिक्षा । गाउँमा भाषा पाठशाला खोल्नेदेखि गाउँलेहरुमा चेतना जगाउने काममा अम्बिकाले देखिने गरी भूमिका निर्वाह गरे । सतौं चारखुट्टेमा जिल्लाकै पहिलो औपचारिक विद्यालय मातृभूमि स्कुल अम्बिकाकै प्रेरणाबाट खुलेको उनका आफन्तहरु बताउँछन् ।
उनकै अगुवाईमा २०२१ सालमा चिलाउनेवासमा जनप्रदीप स्कुल खुल्यो । जुन मावि हुँदै अहिले क्याम्पस समेत सञ्चालनमा छ । २०१५ सालको संसदीय चुनावमा पराजित भएपछि उनी सामाजिक क्रियाकलापमा बढी संलग्न रहे । २०१७ सालमा राजाले संसद भंग गरेपछि अम्बिका चिलाउनेवास गाउँ पञ्चालयतको पहिलो अध्यक्ष बने । त्यसपछि अञ्चलस्तरीय सदस्यहरुकै बीचबाट उनी २ पटकसम्म राष्ट्रिय पञ्चायतको सदस्य भए । निडर र हक्की स्वभावका अम्बिकासँग तत्कालीन समयमा प्रमुख जिल्ला र न्यायाधीशहरु पनि हच्किने उनका समकक्षीहरुले सुनाउँथे ।
उनै अम्बिको योगदान समेट्ने गरी ‘स्याङ्जाको पृष्ठभूमि र माननीय अम्बिकाप्रसादको योगदान’ पुस्तक प्रकाशन भएको छ । प्राडा यमबहादुर पौडेल क्षेत्रीको लेखन अनि सम्पादनको उक्त पुस्तक प्रकाशन उद्यमी, व्यवसायी नारायणप्रसाद पौडेलले गरेका हुन् । उक्त किताब शनिबार पोखरामा लोकार्पण गरिएको छ । संविधान सभा सदस्य तथा गण्डकी विश्वविद्यालयका संस्थापक कुलपति प्राडा गणेशमान गुरुङको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो ।
अम्बिकाप्रसाद पौडेलको राजनीतिक, सामाजिक, शैक्षिक र धार्मिक योगदानमा केन्द्रित रही उक्त अनुसन्धानात्मक ग्रन्थ प्रकाशनमा आएको हो । मणिपाल शिक्षण अस्पताल, पोखराका सञ्चालक नारायणप्रसाद पौडेलद्वारा प्रकाशित उक्त ग्रन्थले स्वर्गीय पौडेलको व्यक्तित्व र उनको समयको सामाजिक परिवेशलाई उजागर गरेको छ ।
ग्रन्थका अनुसार, शिक्षाको पहुँच अत्यन्त सीमित भएको बेला पौडेलले स्याङ्जामा शैक्षिक क्रान्तिको नेतृत्व गरेका थिए । पौडेलको योगदान शिक्षामा मात्र सीमित थिएन । उनले आँधीखोला क्षेत्रका बासिन्दाका लागि स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य चौकी स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पुस्तकमा उनको यी कार्यहरूलाई तत्कालीन समाजमा विकास र चेतनाको जग बसाल्ने महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरिएको छ ।
यो पुस्तक करिब ४० वर्ष लामो अध्ययन र विभिन्न व्यक्तिहरूसँगको अन्तर्वार्तामा आधारित छ । पुस्तकमा स्याङ्जाका पूर्व राष्ट्रिय पञ्चायत उपाध्यक्ष हरिबहादुर थापा, पूर्व प्रधानपञ्च, विभिन्न विश्वविद्यालयका कुलपति, राजनीतिज्ञ, समाजसेवी, शिक्षक तथा प्रशासकहरूका अनुभव र अभिमत पनि समेटिएको छ ।
प्रकाशक नारायणप्रसाद पौडेलले अम्बिकाप्रसाद पौडेलले वि.सं. २००७ साल अगावैदेखि २०१५ सालसम्म र २०१७ सालदेखि २०४० सालसम्म गरी करिब ४ दशकसम्म निरन्तर राजनीतिक, सामाजिक, शैक्षिक एवं धार्मिक क्षेत्रमा पुर्याएका योगदानहरु पुस्तकमा समेटिएको बताए । परम्परागत शिक्षा संस्कृतिमा मात्र जकडिएको तत्कालीन समाजमा आफ्नै गाउँदेखि विभिन्न गाउँहरूमा आधुनिक शिक्षाका लागि र अन्य विकासका पूर्वाधारहरू स्थापित गराउँदै लैजाने सवालमा पथप्रदर्शक बनेका अम्बिकाप्रसाद पौडेलको योगदानको ऐतिहासिक महत्व रहिरहने उनको भनाइ थियो । उनले भने, ‘देशको ऐतिहासिक चरणमा योगदान पुर्याउने विभिन्न जिल्लाका अन्य व्यक्तिहरूको समेत अभिलेख तयार गर्नमा यस ग्रन्थले मार्ग प्रशस्त गर्न सकोस् भन्ने लागेको छ ।
कार्यक्रमको अध्यक्षता गरेका अम्बिकाका छोरा राजेन्द्रप्रसाद पौडेलले पिताको निधन भएको ४२ वर्षपछि भए पनि योगदानलाई उजागर गरिदिने पुस्तक लेखक र प्रकाशकप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा संविधान सभा सदस्य एवं गण्डकी विश्वविद्यालयका संस्थापक कुलपति प्राडा गणेशमान गुरुङले समाज परिवर्तनका सवालमा अम्बिकाको योगदान कसैले भुल्न नहुने बताए । उनको घरको संरक्षण गरी संग्रहालय बनाउन उनले सन्ततिसँग आग्रहसमेत गरे ।
गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले उतिबेला अम्बिकाले थालेका कामहरुलाई अहिले आफूले राजनीतिकर्मीका रुपमा निरन्तरता दिइरहेको बताए । राजनीतिमा निडर, प्रष्ट वक्ता र उदारवादी पञ्चको छबी बनाएका हजुरबुवा अम्बिकाकै पदचापमा आफू हिँडिरहेको उनको भनाइ थियो । पुस्तकमाथि परिचर्चा नारायण ढकालले गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेल, अम्बिकाकी नातिनी डा. रमा पौडेल, दुर्गाबहादुर शाह (बाबा), तीलक पौडेल, स्याङ्जाली सम्पर्क सदनका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, कृष्ण क्षेत्री (उदय) लगायतले बोलेका थिए ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया