प्राध्यापन छाडेर राजनीतिमा होमिएका पृथ्वीमान: जसले चितवनको विकासमा अमिट छाप छोडे

समाधान संवाददाता २०८२ साउन १४ गते १४:४६

चितवन ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्ने कास्कीका एक युवा, पृथ्वीमान गुरुङको जीवनले तब निर्णायक मोड लियो, जब उनको भेट जननायक बीपी कोइरालासँग भयो । विसं २०३१ मा पश्चिमाञ्चल भ्रमणमा रहेका बीपीसँगको त्यो भेट नै गुरुङका लागि प्राज्ञिक जीवन छाडेर कांग्रेसको सक्रिय राजनीतिमा पूर्ण रूपमा समर्पित हुने प्रेरणा बन्यो । बीपीकै परामर्शमा उनी चितवन झरे र यहीँको माटोमा आफ्नो राजनीतिक र सामाजिक कर्म सुरु गरे ।

विसं २००६ मा कास्कीमा जन्मिएका गुरुङ बौद्धिक व्यक्तित्वका धनी थिए । विज्ञानमा स्नातकोत्तर (एमएस्सी) सम्मको अध्ययन सकेर उनी प्राध्यापन पेसामा आबद्ध थिए । तर, देश र जनताका लागि केही गर्ने हुटहुटीले उनलाई कक्षाकोठामा मात्र सीमित रहन दिएन । उनले प्राध्यापन छाडेर चितवनको सामाजिक परिवर्तन र राजनीतिको कठिन बाटो रोजे ।

एक बौद्धिक प्राध्यापकबाट जनप्रिय नेता बनेका गुरुङको यही साउन १० गते चितवनस्थित आफ्नै निवासमा निधन भयो । उनको निधनले चितवनको राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो रिक्तता छाडेको छ । पूर्वगण्डकी प्रदेश प्रमुख समेत रहेका गुरुङको योगदानको कदर गर्दै उनको पार्टी नेपाली कांग्रेस र प्रदेश सरकारले उच्च सम्मान व्यक्त गरेका छन् ।

Advertisement

कांग्रेस चितवनले उनको सम्मानमा तीन दिनसम्म जिल्लास्थित पार्टी कार्यालय बन्द गर्‍यो भने जिल्लाका सबै तहमा शोक पुस्तिका राखेर श्रद्धाञ्जली अर्पण गर्‍यो । जिल्ला सभापति राजेश्वर खनालका अनुसार, गुरुङ बीपीको परामर्शमा चितवन आएर प्राध्यापनजस्तो सम्मानित पेसा त्यागी यहाँको विकास र राजनीतिमा सक्रिय भएका थिए ।

उनको राजनीतिक यात्रा समर्पण र निरन्तरताको पर्याय थियो । उनी पटक-पटक नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य बने, आठौँ महाधिवेशनदेखि निरन्तर महासमिति सदस्य रहे र विसं २०६१ देखि ०६३ सम्म जिल्ला सभापतिको जिम्मेवारी सम्हाले । विसं २०४६ को जनआन्दोलनमा तत्कालीन जिल्ला सभापति कृष्णलाल सापकोटाको संयोजकत्वमा केन्द्रले गठन गरेको पाँच सदस्यीय आन्दोलन परिचालन समितिका उनी एक जुझारु सदस्य थिए ।

Advertisement

विसं २०४८ को आम निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गुरुङ झिनो मतले पराजित भए । तर, चुनावी हारले जनताप्रतिको उनको लगावलाई कहिल्यै कम गरेन । उनी झनै सक्रिय भएर जिल्लाको विकास निर्माणमा जुटे ।

भरतपुर क्यान्सर अस्पतालको स्तरोन्नति, माडीलाई भरतपुरसँग जोड्ने राप्ती नदीमा पुल निर्माण, निकुञ्जभित्रको जोखिमपूर्ण बस्ती पदमपुरको स्थानान्तरण र पूर्वी चितवनमा राप्ती नदी तटबन्धनजस्ता जिल्लाका ठूला र दूरगामी महत्त्वका आयोजनामा उनको भूमिका महत्त्वपूर्ण रह्यो । खनालका अनुसार, विसं २०४८ पछि गिरिजाप्रसाद कोइराला पटक-पटक प्रधानमन्त्री हुँदा गुरुङकै पहलमा यी आयोजना सम्पन्न भएका थिए ।

उनको विकासको दृष्टिकोण पश्चिम चितवनदेखि भरतपुरसम्म फैलिएको थियो । भरतपुरमा सञ्चालनमा आएका दुई ठूला मेडिकल कलेज स्थापना गर्न पनि गुरुङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको खनाल बताउँछन् ।

पार्टीमा रहेर जनताको हितमा गरेको यही निस्वार्थ सेवाका कारण कांग्रेस चितवनले पूर्वसभापति गुरुङलाई उच्च सम्मान दिँदै १३ दिनसम्म नै शोकका कार्यक्रम गरिरहेको छ । पृथ्वीमान गुरुङ भौतिक रूपमा नरहे पनि उनले चितवनको विकासमा छोडेका कैयौँ पूर्वाधार र सामाजिक रूपान्तरणका कामले उनलाई सधैँ जीवित राख्नेछन् ।

तपाईको प्रतिक्रिया