अब नेपालमै छापिन्छ हुलाक टिकट, सुरक्षण मुद्रण केन्द्रले जिम्मा पाउँदै

समाधान संवाददाता २०८२ साउन १६ गते १७:१८

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबदेखि हुलाक टिकट नेपालमै छाप्ने घोषणा गरेका छन्। मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले यो जिम्मेवारी लिनेछ, जसले गर्दा लामो समयदेखि जनक शिक्षा सामग्री केन्द्र वा अन्य निकायबाट हुँदै आएको छपाइको परम्परा अन्त्य हुने भएको छ।

बिहीबार १४ नयाँ हुलाक टिकटको टाँचा अनावरण गर्दै मन्त्री गुरुङले यो महत्वपूर्ण जानकारी दिएका हुन्। उनले बैंक नोटबाहेक अन्य सबै आवश्यक राष्ट्रिय कागजातहरू सुरक्षण मुद्रण केन्द्रबाटै छाप्ने सरकारी योजना रहेको बताए। “हुलाक टिकटमार्फत देशको कला, संस्कृति, इतिहास र रैथाने परम्पराको संरक्षण गर्नु जरुरी छ,” उनले भने।

बिहीबार सार्वजनिक गरिएका १४ नयाँ टिकटहरूले नेपालको सांस्कृतिक र ऐतिहासिक विविधतालाई समेटेका छन्। जसमा बिस्केट, हाँडीगाउँजस्ता जात्राहरू; दैलेखको सप्त देवल, गोरखाको भीमसेन मन्दिरजस्ता ऐतिहासिक मन्दिरहरू; प्राचीन प्रस्तर मूर्तिहरू तथा शिक्षाविद् कुलरत्न तुलाधर र शंकरदेव पन्त जस्ता व्यक्तित्वहरूलाई प्रस्तुत गरिएको छ।

Advertisement

कार्यक्रममा वि.सं. १९३५ देखि २०८२ सम्म प्रकाशित टिकटहरूको विवरण समेटिएको ‘नेपाल हुलाक टिकट’ नामक पुस्तक पनि विमोचन गरियो। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाकलाई देशको इतिहास बोक्ने दस्तावेजको रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धनमा समेत जोड्ने प्रयास भइरहेको जानकारी दिइन्।

Advertisement

तपाईको प्रतिक्रिया