प्रहरी निरीक्षक कार्की असारको उत्कृष्ट प्रहरी

समाधान संवाददाता २०८२ साउन १९ गते १७:२०


पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार कार्कीलाई असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । १ महिनाको अवधिमा लागूऔषध कारोबारी, सुन र हिराका तस्कर, जुवाडे तथा जबर्जस्ती रकम असुल्ने समूहलाई पक्राउ गरी महत्वपूर्ण सफलता हासिल गरेको भन्दै कार्यालयले कार्कीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।


प्रहरी निरीक्षक कार्कीको सक्रियतामा प्रहरीले गएको असारमा कास्की जिल्लामा विभिन्न प्रकृतिका अपराधमा संलग्न ३१ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कार्की नेतृत्वको टोलीले असार ६ गते अवैध रुपमा बिक्री वितरणका लागि ल्याइएको करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सुन तथा हिराका गरगहनासहित २ जनालाई पक्राउ गरेको थियो । यो सफलतालाई कार्यालयले महत्वपूर्ण उपलब्धिका रुपमा मूल्यांकन गरेको छ ।


त्यस्तै, प्रहरी निरीक्षक कार्कीले कास्की जिल्लाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी उनीहरुको साथबाट नगद ४ लाख ८६ हजार ४ सय ७५ रुपैयाँ बरामद गरेका थिए ।

Advertisement


यसका अतिरिक्त, असार ३ गते लागूऔषधसहित चार जना व्यक्तिलाई पक्राउ गरिएको थियो भने असार २७ गते एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो दल्ने भन्दै धम्क्याएर रकम असुल्न खोज्ने ३ जनालाई पनि पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले संगठनले निर्दिष्ट गरेको उद्देश्य प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरी उत्कृष्ट कार्य गरेकाले कार्कीलाई असार महिनाको उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरिएको जनाएको छ ।


गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक कार्कीलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले साउन १९ गते प्रशंसापत्र प्रदान गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया