‘मिडियामा आदिवासी समावेशिता जरुरी’

पोखरा । प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको फोनिज संवादमा उनले मिडियामा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।
फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सहआयोजनामा भएको ‘मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल’ कार्यक्रममा उनले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता र समावेशिता आवश्यकता भएको बताए । देशको विविधता अनुसारको प्रतिनिधित्व राज्यका अंगहरुमा हुनुपर्ने भएजस्तै मिडियामा पनि समावेशीकरण हुनुपर्नेमा जोड दिए । समावेशी प्रतिनिधित्व भएको मिडिया थप विश्वसनीय हुने उनको भनाइ थियो ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले नेपालमा भएको जातीय सद्भावलाई नियालेर सबै नागरिकले गौरव गर्नुपर्ने बताए । कुनै पनि समुदायका नागरिकलाई राज्यले विभेद गरेको जस्तो अनुभव नभएको उनको भनाइ छ । ‘राज्यले आदिवासी जनजाति लगायतकालाई विभेद गरेको जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘पिछडिएको र आफूलाई विभेद भएको जस्तो लाग्छ भने सम्बन्धित स्थानमा आवाज उठाउनुपर्छ ।’ आदिवासी जनजाति समुदायलाई मिडिया क्षेत्रमा क्रियाशील बनाउने विषयमा बहस गर्नु जरुरी रहेको उनको भनाइ छ ।
फोनिज गण्डकी/कास्की सल्लाहकार हुमबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्दै राज्यलाई पूर्ण समावेशी नीति निर्माण गर्न र कार्यान्वयनका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । मिडियामा समावेशिता नीतिगत रुपमा सकारात्मकतर्फ अग्रसर भए पनि आदिवासी जनजातिले चाहे अनुसार पूर्ण रुपमा समावेशिताको नीतिको भने अभाव रहेको उनको गुनासो छ ।
‘नेपालमा व्यवस्था परिर्वतन भयो, आदिवासी जनजातिको विषय उठान हुँदै आयो, तर सोचमा परिर्वतन हुन सकेन,’ गुरुङले भने, ‘सञ्चार माध्यमले मौलिकताको प्रचार गर्दै विभेदको अन्त्य र समानतामूलक समाज निर्माणका लागि भूमिका खेल्नुपर्छ ।’ पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्माले आदिवासी जनजाति भन्नासाथ उनीहरुको पोशाक, खानपान र गरिबीलाई मात्र अहिलेसम्म बाहिर ल्याउने कार्य भइरहेको बताइन् । उनीहरुको समुदायमा भएका रहनसहन र सकारात्मक विषयलाई मिडियाले उठान गर्न सक्नुपर्ने उनको भनाइ छ ।
महासचिव शर्माले कार्यक्रममा गण्डकी प्रदेश सरकारले कामकाजी भाषाका रुपमा मगर र गुरुङ भाषालाई प्रमाणीकरण गरिसकेको अवस्थामा कार्यान्वयनका लागि फोनिजको भूमिका महत्वपूर्ण हुने उनले बताइन् । ‘अहिलेको संविधानले हरेक समुदायको हक, अधिकारलाई समावेश गरेको छ,’ उनले भनिन्, ‘कार्यान्वयनमा कसरी लैजाने भन्नेमात्रै हो ।’ संविधानले दिएको हक अधिकारले गर्दा नेपालमा लोकतन्त्र सफल भएको मान्न सकिने महाासचिव शर्माको भनाइ छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकी प्रदेश अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्तीमगर लगायतले आदिवासी समुदायका पत्रकारहरुको संरक्षणसँगै क्षमता विकासका लागि नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया