दूधपोखरीमा पौडी खेल्दा किशोर बेपत्ता, उद्धार टोली घटनास्थलतर्फ

लमजुङ ।
लमजुङ, कास्की र मनाङको सिमानामा अवस्थित प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। शनिबार बिहान ५,३०० मिटर उचाइको पोखरीमा पौडी खेल्दा लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
प्रहरीका अनुसार गुरुङ ९ जना साथीहरूको समूहमा शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार बिहान दूधपोखरी पुगेका थिए। बिहान करिब ८ बजेतिर पोखरीमा नुहाउने क्रममा उनी पौडी खेल्दै केही टाढा पुगेपछि बेपत्ता भएका हुन्। उनका साथीहरूले उद्धारको प्रयास गरे पनि सफल नभएपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहराले घटनाको जानकारी पाउनासाथ उद्धार टोली पठाइएको बताए। उनका अनुसार प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा नेपाल प्रहरीका ४ जना र सशस्त्र प्रहरी बलका ५ जनासहितको संयुक्त टोली घटनास्थलतर्फ पठाइएको छ। “टोलीमा स्थानीय सहयोगीहरू पनि सामेल छन् र सकेसम्म छिटो घटनास्थल पुग्ने प्रयास भइरहेको छ,” डिएसपी बोहराले भने।
दूधपोखरी मानवबस्तीबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले उद्धार कार्य चुनौतीपूर्ण रहेको छ। यसैबीच, क्व्होलासोथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले स्थानीयवासीको अर्को टोली पनि आइतबार बिहानै घटनास्थलतर्फ लागेको जानकारी दिइन्। उनका अनुसार उक्त टोली सोमबार बिहानसम्ममा पोखरी पुग्ने अपेक्षा छ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया