लेकसाइडका स्पामा प्रशासनको छड्के: चार बालिकाको उद्धार, सञ्चालकलाई कारबाही

समाधान संवाददाता २०८२ भदौ १० गते ७:२४
सांकेतिक तस्बिर

पोखरा

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित शंकास्पद स्पा तथा व्युटी पार्लरहरुमाथि छड्के अनुगमन गरी चारजना नाबालिग बालिकाको उद्धार गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भदौ ३ गते साँझ गरिएको निरीक्षणका क्रममा १८ वर्षभन्दा कम उमेरका बालिकाहरूलाई जोखिमपूर्ण श्रममा संलग्न गराइएको पाइएपछि उनीहरुलाई उद्धार गरिएको हो ।

सुरक्षाकर्मीसहितको संयुक्त टोलीले लेकसाइडका ९ वटा स्पामा अनुगमन गरेको थियो । सो क्रममा ४ वटा स्पाबाट ४ जना बालिकालाई उद्धार गरी तत्कालै ‘राईट फर चिल्ड्रेन’ नामक संस्थाको समन्वयमा कोपिला नेपालको अस्थायी संरक्षण गृहमा पठाइएको थियो ।

Advertisement

श्रम तथा रोजगार कार्यालय, पोखराले उद्धार गरिएकामध्ये दुई बालिकालाई उनीहरुले पाउनुपर्ने पारिश्रमिकबापत क्रमशः १९ हजार ५५० रुपैयाँ र १२ हजार ८५० रुपैयाँ उपलब्ध गराएको छ । बालश्रम प्रयोग गरेबापत सम्बन्धित स्पाका प्रत्येक सञ्चालकलाई १० हजार रुपैयाँका दरले जरिवाना तिराइएको प्रशासनले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी बालिकाहरुलाई उनीहरुको परिवारको जिम्मा लगाइएको छ ।

यसका साथै, जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्पा सञ्चालकहरुलाई विभिन्न शर्तमा कागज गराएर छाडेको छ । उनीहरुलाई व्यवसाय दर्ता तथा नवीकरण गर्ने, नियमानुसार कर तिर्ने, दर्ताअनुसारको साइनबोर्ड राख्ने, १८ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने र ‘रात्रिकालीन होटल तथा रेष्टुरेण्ट सञ्चालन सम्बन्धी मापदण्ड, २०८०’ को पूर्ण पालना गर्ने प्रतिबद्धता गराइएको छ ।

Advertisement

उक्त अनुगमन टोलीमा वडा प्रहरी कार्यालय, वैदाम र सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ कालिका गणका प्रतिनिधिको समेत सहभागिता थियो ।

तपाईको प्रतिक्रिया