मुस्ताङ—डोल्पा बाटो सहज बनाउन माग

समाधान संवाददाता २०८२ असोज ४ गते १६:२८

जोमसोम ।
गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक छिटो स्तरोन्नति गरीसञ्चालनमा ल्याउन संघीय र प्रादेशिक सरोकारहरुको ध्यानाकर्षण गराउने निर्णय भएको छ । सीमा जोडिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिच मंगलबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयमा भएको अन्तर जिल्ला अन्तरपालिका स्तरीय समन्वयात्मक बैठकमा यस्तो निर्णय गरिएको हो ।


मुस्ताङ र डोल्पाको सडक कनेक्टिभिटी जोड्ने गरी सडक डिभिजन कार्यालय बागलुङमार्फत मुस्ताङतर्फ यहाँको वारागुङ मुक्तिक्षेत्रको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै छुकसम्वसम्म सडक सञ्जाल पुगेको छ । उता, डोल्पाको छार्का ताङसोङ गाउँपालिकाले पालिकाको डोजर लगायतका उपकरण प्रयोग गरी ठासाङ लाप्चे सेमसम्म सडकको पहुँच लगेको छ ।


मुस्ताङ र डोल्पा सडकको ट्याक एकापसमा जोडिएको भए पनि ठासाङ लाप्चे सेर्मदेखि मुस्ताङतर्फको छुकसम्बसम्मको सडक असहज र निकै नै जोखिमपूर्ण रहेकाले तत्काल सडक स्तरोन्नति गर्नुपर्नेमा दुबै पालिकाले जोड दिएका छन् । मुस्ताङ डोल्पा रणनीतिक महत्वको सडक यथास्थितिमा रहँदा उपल्लो डोल्पाका बासिन्दालाई निकै समस्या परेको अन्तर जिल्ला अन्तरपालिका स्तरीय बैठकमा छार्का ताङसोङ गाउँपालिकाका प्रतिनिधिहरुले दुखेसो गरेका छन् ।

Advertisement


संघीय सरकार योजना अन्तर्गतको मुस्ताङ डोल्पा सडक २०७६ देखि सुरु गरिएको भए पनि सडक स्तरोन्नतिले हालसम्म पनि पूर्णता नपाउँदा मालवस्तु ढुवानी, पर्यटन, कृषि लगायत र उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङ आउजाउमा समस्या परेको हो । उपल्लो डोल्पाका नागरिकलाई निर्माण सामग्री तथा मालवस्तु ढुवानी गर्दा डोल्पा सदरमुकाम दुनैभन्दा मुस्ताङबाट लैजादै ४० प्रतिशतभन्दा बढी कम ढुवानी लाग्ने गरेको छार्का ताङसोङ गाउँपालिका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङले उल्लेख गरे ।
उपाध्यक्ष गुरुङले मुस्ताङ डोल्पा सडक यहाँको मात्रै नभई उपल्लो डोल्पाका नागरिकका लागि महत्वपूर्ण लाइफलाइन भएकाले यथाशीघ्र सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए ।


मुस्ताङ—डोल्पा अधुरो रहेको बाँकी ५ किलोमिटर सडकलाई यथाशीघ्र स्तरोन्नति गरी सञ्चालनमा ल्याउनका लागि दुबै पालिकाले कार्यदल बनाएर संयुक्त डेलिगेसनमार्फत संघीय र प्रादेशिक सरकारको ध्यानाकर्षण गराउने सहमति भएको वारागुङका अध्यक्ष रिङजीन नामगेल गुरुङले उल्लेख गरे । ‘सरकारले यहाँको सडकमा करोडौं लगानी गरेको छ, अब यहाँको सडक सहज हुन केही किलोमिटरमात्रै बाँकी रहेको छ,’ अध्यक्ष गुरुङले भने, ‘अहिले हात्ती छि¥यो, पुच्छर अड्कियो भने जस्तो भाको छ, अब यसलाई छिटो, छरितो रुपमा सम्पन्न गर्नुपर्ने दुबै गाउँ पालिकाको माग छ ।’

Advertisement


सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले चालु आर्थिक वर्ष मुस्ताङ—डोल्पा सडकको मुख्य काम र नयाँ ट्याक खोल्नका लागि ४० लाख बजेट बिनियोजन भएको जानकारी दिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकाबिच भएको अन्तर जिल्ला अन्तरपालिका स्तरीय समन्यात्मक बैठकले मुस्ताङ डोल्पा सडकलाई प्राथमिकतामा राखेर चार बुँदे सहमति गरेको वारागुङ मुक्तिक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए । छार्का ताङसोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबिच भएको समन्वयात्मक बैठकमा डोल्पाबाट मुस्ताङ निकासी हुने याक नाक र भेडाच्यांग्रा लगायतको खोप कार्यक्रम र पशु निरोगिताको जाँच गर्ने सहमति भएको हो ।

तपाईको प्रतिक्रिया