पर्वतीय दौडमा सयको नाम दर्ता

समाधान संवाददाता २०८२ असोज ४ गते १६:३२

पोखरा ।
विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेस प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीले नाम दर्ता गराएका छन् ।
प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २ सय ५० जना खेलाडी सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले बताए ।

फस्ट कम फस्ट सर्भिस आधारमा २ सय ५० जना खेलाडीको नाम दर्ता पुग्नासाथ फर्म बन्द गरिनेछ । फर्म भर्न चाहनेले पोखरा क्लिक अनलाइनमा गई भर्नुपर्ने छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता यसअघि असोज ४ मा हुने भनिए पनि जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो ।

पोखरा २२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म हुने दौडमा ६ इभेन्ट समावेश गरिएको छ । विभिन्न इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था रहेको आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए ।
प्रदेश खेलकुद परिषद् गण्डकी समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएका छन् । प्रतियोगितामा खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ ।

Advertisement

सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया