कास्की प्रशासनले नयाँ नागरिकता लगायत थप सेवा सुरु गर्ने

समाधान संवाददाता २०८२ असोज ७ गते १८:५५
फाइल तस्बिर

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले तोडफोड, आगजनी र लुटपाटका कारण क्षतिग्रस्त कार्यालयमा आवश्यक मर्मतपछि थप सेवा सुचारु गर्ने भएको छ।

कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, भदौ २४ गतेको घटनापछि आंशिक रूपमा केही सेवा मात्र प्रदान गर्दै आएकोमा, भदौ २९ गतेदेखि सुरु गरिएका सेवासँगै असोज ८ गतेदेखि नयाँ सेवा विस्तार गर्न लागेको हो।

थप सुरु हुने सेवामा नयाँ नागरिकता वितरण, आगजनीपछिको प्रक्रियाअनुसार राहदानी विभागबाट कार्यालयमा प्राप्त भएका राहदानी वितरण (रजिस्टर्ड मोबाइल नम्बरमा ‘Your Passport is ready to collect’ भन्ने SMS प्राप्त गरेका सेवाग्राहीका लागि) र भारतीय पेन्सन सिफारिस सेवा रहेका छन्।

Advertisement

यसअघि सार्वजनिक गरिएको असोज २ गतेको सूचनाअनुसार इलाका प्रशासन कार्यालय, लेखनाथबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ। साथै, प्रतिलिपि नागरिकता, गैरआवासीय नागरिकता, राहदानी फोटो खिच्ने (Enrollment), संघ–संस्था दर्ता, नाबालक परिचयपत्रलगायतका अन्य सेवा पनि चाँडै सुचारु गरिने जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले नागरिकलाई सूचनाको पालना गर्न र तोकिएका सेवाका लागि मात्र कार्यालय सम्पर्क गर्न आग्रह गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया