चितवनका अलपत्र यात्रुका लागि होटलमा ७५ प्रतिशत छुट, सवारी सञ्चालन अर्को सूचना नहुँदासम्म रोक

चितवन। अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध भई गन्तव्यमा पुग्न नसकेका यात्रुहरूको राहतका लागि चितवन प्रशासनले विशेष व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीहरूलाई अलपत्र यात्रुलाई कोठा भाडामा ७५ प्रतिशत छुटमा बस्न दिने निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले यात्रुहरूसँग सहानुभूति र मानवीय दृष्टिकोणले व्यवहार गर्न आग्रह गर्दै, छुट प्राप्त यात्रुहरूलाई अन्य पाहुनासरह सम्मानपूर्वक व्यवहार गर्न निर्देशन दिएका हुन् । उनले निर्णयको कार्यान्वयन सुनिश्चित गर्न होटल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयलाई अनुगमन गर्न पनि निर्देशन दिनुएका हुन् ।
होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) ले प्रशासनको निर्णयलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाउँदै अलपत्र यात्रुले आवश्यक परेमा आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने जानकारी दिए । उनले भने, “हामीले ७५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्छौं, बाध्यता हेरेर केहीलाई निःशुल्क बस्ने व्यवस्था पनि मिलाइन्छ।”
त्यस्तै, क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अहिले ४० जना अलपत्र यात्रुलाई निःशुल्क आवास र भोजन सुविधा दिइरहेको बताउँदै, अन्य होटलहरूले पनि प्रशासनको निर्देशनअनुसार छुटको व्यवस्था मिलाउने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार, मुग्लिन, नारायणगढ, भरतपुर, टाँडी, पर्सालगायत क्षेत्रमा रहेका अलपत्र यात्रुहरूले प्रहरीको समन्वयमा नजिकका होटलहरूमा छुट सुविधा लिन सक्नेछन् ।
यसैबीच, चितवन जिल्ला सुरक्षा समितिको शनिबार साँझ बसेको बैठकले नारायणगढ हुँदै राजधानी काठमाडौँतर्फ जाने सबै सवारी साधनको सञ्चालन अर्को सूचना नहुँदासम्मका लागि रोक्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार, नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला, मुग्लिन–मेलेखु सडकखण्डका विभिन्न स्थानमा पहिरो र बाढीको जोखिम अत्यधिक भएकाले सवारी सञ्चालन स्थगित गरिएको हो । “मौसम पूर्वानुमान महाशाखाको सतर्कता र सडकको जोखिमलाई ध्यानमा राखी यात्रुको सुरक्षाका लागि यातायात अस्थायी रूपमा बन्द गरिएको छ,” उनले बताए ।
चितवन प्रशासनले यात्रुहरूलाई आवश्यक नपरी यात्रा नगर्न र आवासका लागि नजिकको होटल सङ्घ वा प्रहरी कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेको छ ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया