लामागेका बालबालिकालाई पञ्चैबाजा प्रदान, मौलिक संस्कृतिको संरक्षणमा पुतलीबजारको पहल

समाधान संवाददाता २०८२ असोज १९ गते ८:०६

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले बालबालिकामार्फत मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गत पञ्चैबाजाको सेट वितरण गरेको छ । नगरपालिकाले वडा नं.–१४, लामागेका बालबालिकालाई नेपाली पहिचान बोकेको मौलिक बाजा—दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई प्रदान गरेको हो ।

नगरप्रमुख तुलसीराम रेग्मीले लामागेको पञ्चैबाजासँग जोडिएको पुरानो ख्याति अबका बालबालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने, “लामागेले पञ्चैबाजाको नाममा नेपालको सांस्कृतिक पहिचान बोकिरहेको छ, अब बालबालिकाले यो परम्परा जोगाएर राख्नुपर्छ ।”

नगरपालिकाले पञ्चैबाजाको प्रयोगलाई केवल सांस्कृतिक अभ्यास नभई सीप र आत्मनिर्भरता विकाससँग जोड्न खोजेको जनाएको छ । नगरप्रमुख रेग्मीका अनुसार, ‘पढ्दै कमाउँदै’ योजना अन्तर्गत बालबालिकाले सीप सिक्दै आयआर्जन गर्न सक्ने वातावरण बनाउने प्रयास हो ।

Advertisement

पञ्चैबाजा नेपाली समाजमा शुभकार्य, धार्मिक अनुष्ठान र सांस्कृतिक पर्वको अभिन्न अङ्गका रूपमा प्रयोग हुँदै आएको पुरानो बाजा हो । यसको प्रयोगले केवल संगीत नभई समुदायबीचको सहकार्य, उत्सव र एकताको भावना झल्काउने विश्वास नगरपालिकाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया