सिल्मी–कार्कीनेटा सडक जोखिमपूर्ण

पर्वत ।
सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक खण्ड निर्माण व्यवसायीको लापरवाहीले जोखिमपूर्ण बनेको छ ।
पोखरा बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौँ सवारीसाधन चल्ने भए पनि समयमा काम नगर्दा यात्रुहरूलाई सास्ती भएको हो । सिल्मी–ठूलीपोखरी सडकको पोखरी घुम्ती, लौकेको उकालोलगायत ठाउँमा रहेको सोलिङका ढुंगा उप्काएर अन्यत्र लगिएको तर, उक्त ठाउँमा ग्राभेललगायतका सामग्री नराख्दा बिरामी तथा विद्यालय जाने विद्यार्थीलाई समस्या भएको हो ।
सडक समयमा काम नहुँदा ठूलीपोखरी हुँदै दैनिक आवतजावत गर्ने सवारीसाधन बाटैमा अलपत्र परेका हुन् । वैकल्पिक व्यवस्था नगरी सडक अलपत्र छाड्दा उकालो ठाउँमा हिलोले सवारीसाधन जान सकिरहेका छैनन् । सवारी साधन नियमित नहुँदा विद्यालय जाने विद्यार्थी तथा बिरामीलाई समेत समस्या भएको स्थानीय मिलन पौडेलले जानकारी दिए ।
हिलो हुने समयमा भइरहेको सोलिङ उप्काएर ढुंगा लाने तर बाटो नबनाउने गर्दा स्थानीय समस्यामा परेको कुश्मा नगरपालिका १२ का वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । वैकल्पिक सडकको उचित व्यवस्थापन तथा मर्मत हुनुपर्नेमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको उनको आरोप छ ।
‘हामीले पटक पटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ, तर खासै ध्यान दिइएको छैन,’ उनी भन्छन्, ‘कतिपय समयमा उल्टो गाली गर्ने गरेको छ ।’ स्थानीय बासिन्दा तथा यातायात व्यवसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा दैनिक रूपमा कुश्मा, पोखरा लगायत ठाउँमा जाने र आउने सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको छ ।
निर्माण व्यवसायीलाई मर्मतको कुरा उठाउँदा धम्क्याउने गरेको उनको दाबी छ । सो सडकको निर्माण र अनुगमनको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले यस विषयमा निर्माण पक्षलाई पटक पटक निर्देशन दिएको जनाए । ‘हामीले तत्काल सडक मर्मत गर्न भनिरहेका छौँ तर निर्माण व्यवसायीले अटेरी गर्दा यस्तो समस्या आएको हो, त्यसका लागि स्थानीय जनता र जनप्रतिनिधिले दबाब दिनुपर्छ’, अर्यालले भने ।
सडकमा सोलिङ भएको भाग उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रुहरू आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको छ । स्थानीयले सम्बन्धित निकाय तथा निर्माण कम्पनीलाई तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन आग्रह गरेका छन् ।
पूर्वाधार विकास कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत बजेट ५ करोड ८० लाखमा ५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको हो । उक्त सडक यस आवमा सकिनुपर्नेमा हालसम्म जम्मा २५ प्रतिशतमात्र काम भएको छ । सडकमा कालोपत्र, ढलान, नाली, टेवा पर्खाल तथा जाली लगाउने कार्य हुने जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ । रासस







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया