मुक्तिनाथमा शौचालय प्रयोग गर्न नदिइएको भारतीय पर्यटकको गुनासाे

जोमसोम ।
यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका भारतीय दर्शनार्थी पर्यटकले शौचालय उपयोग गर्न नपाएको गुनासो गरेका छन् । मुक्तिनाथ स्थित पुराङ रानीपौवामा संञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरुले शौचालय प्रयोग गर्नबाट विभेद गरिएको गुनासो गरेका हुन् ।
मुक्तिनाथ दर्शनका लागि आएका नेपाली र भारतीय पर्यटकबिच विभेद भएको भन्दै शौचालयको विषय गृह मन्त्रालय हुँदै भारतीय राजदुतावाससम्म पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आईतबार मुक्तिनाथ स्थित पुराङ रानीपौवा सामुदायिक भवनमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा प्रजिअ भुसालले भारतीय पर्यटकले गरेको गुनासो बारे खुलासा गरेका हुन् ।
‘यहाँ संञ्चालित होटलहरुले भारतीय पर्यटकलाई शौचालय प्रयोग गर्न दिईएन भन्ने उजुरी गृह मन्त्रालय हुँदै दुतावाससम्म पुगेछ, दुतावासले हाम्रा नागरिकहरुलाई कसले विभेद गरेको हो छानविन गरी कारवाही गर्नु भन्यो,’ प्रजिअ भुसालले भने,‘ धार्मिक कार्यका लागि आएका उनीहरुमा किन र कसरी विभेद भयो, भारतीय पर्यटकहरुले यहाँ आउँदा हेपिएको महशुस गरे ।’ नागरिक सुनुवाईमा प्रजिअ भुसालले यो विषय सुन्दा सामान्य भएपनि गम्भिर विषय भएकाले यस्तो व्यवहार नगरिदिन अनुरोध गरे ।
प्रजिअ भुसालले मुक्तिनाथका होटल व्यवसायीहरुलाई सुझाउँदै भने,‘ यहाँ शौचालय कम भएको भए थपौ, मुक्तिनाथ विकास समितिसँग पैसा छ, खर्च गर्छ,कहाँ शौचालय बनाउने हो बनाऔं, तर पर्यटकहरुको यस्ता सामान्य गुनासो आउनु हामी सबैको हितका लागि कदाी राम्रो सन्देश होईन ।’
प्रजिअ भुसालले मुक्तिनाथ बजार क्षेत्रको सरसफाई ढल र खानेपानी लगायतका व्यवस्थापन गर्नमा सबैको सामुहिक पहल हुनुपर्ने तर्क गरे । मुक्तिनाथ मन्दिर र यहाँको बजार व्यवस्थापन समिति आधिकारिक भईसकेकाले अब कसरी मिलेर बजार र मन्दिरको समुचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
प्रहरीको नागरिक सुनुवाई कार्यक्रम बोल्दै प्रजिअ भुसालले मुक्तिनाथ बजारक्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई खाने बस्ने लगायतका सेवासुविधाहरुमा मुल्यसूचिमा विभेद भईरहेको गुनासो बढेको बताए । यहाँ विदेशीलाई चर्को मुल्य लिने गरेको र स्वदेशी पर्यटकलाई कम मुल्य लिने गरेको भन्ने कुरा आईरहेकाले यसको व्यवस्थापन गर्न आवश्यक रहेको औंल्याए । मुक्तिनाथ आएका पर्यटकहरुलाई घोडा र डोली चढाएर लाने लैजाने सेवा जोखिमपूर्ण भएकाले यसलाई उचित व्यवस्थापन गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
मुक्तिनाथ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष सुरज गुरुङले शौचालयको विषयलाई लिएर भारतीय पर्यटकहरुले गुनासो र आरोप निराधार भएको बताए । ‘यहाँका होटल तथा रेष्टुरेन्ट व्यवसायमा आवद्ध पर्यटन व्यवसायी त्यती निर्दय छैनन, हामीले कुनै पर्यटकले शौचालय प्रयोग गर्न पाउँ भन्दा दिईरहेका छौं,’ संघका अध्यक्ष गुरुङले भने, ‘यो हामीलाई बद्नाम बनाउने नियत पनि हुनसक्छ, यदी हाम्रा व्यवसायीबाट त्यस्तो अमानविय हर्कत भएको भए छानविन गरी सचेत बनाउँछौं ।’
शौचालय प्रयोगमा विभेद भएको भारतीय पर्यटकको गुनासो प्रष्ट्याउँदै संघका अध्यक्ष गुरुङले भने,‘ मुक्तिनाथ रानीपौवा र बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय मौजुद रहेका यहाँ आएका जुनसुकै पर्यटकहरुलाई शौचालयको अभाव हुँदैन, यदी कसैलाई शौचालयको समस्या परेमा हामी निर्विकल्प शौचालय प्रयोग गर्न दिन्छौ, यसमा कुनै दुईमत हुँदैन ।’ अध्यक्ष गुरुङले आफुहरु व्यवसायीमुखी मात्रै नभई सेवामुखी भएकाले यदी कसैका त्यस्ता गुनासा छन् भन्ने सम्वन्धित स्थानमा राखिदिन अनुरोध गरे ।
संघका अध्यक्ष गुरुङले मुक्तिनाथ बजार क्षेत्रमा रानीपौवा धर्मशालामा ५ भन्दा बढी शौचालय ,बसपार्क छेउ र बसपार्कको तल दुई तले सार्वजनिक शौचालय रहेका यहाँ आएका पर्यटकहरु शौचालयको अभाव नहुने बताए ।
स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मुल्यसूचिमा विभेद भएको गुनासो सम्वन्धमा संघका अध्यक्ष गुरुङले मुल्यसुचिमा एकरुपता ल्याउने बिषय गारो पक्ष रहेको स्पष्ट पारे । यहाँका साना र ठुला होटल तथा रेष्टुरेन्टहरुको सेवासुविधा र गुणस्तरमा भर पर्ने भएकाले पर्यटकहरुलाई दिईने सेवा सुविधाको मूल्यसुचि फरक फरक हुने बताए ।‘ मुल्यसुचिमा विभेद भयो भन्ने कुरा सेवासुविधामा भर पर्छ, यहाँ एक रात सुतेको डेढ दुई लाखसम्म लिने होटलहरु छन,’ अध्यक्ष गुरुङले भने,‘ पर्यटकहरुले कस्तो प्रकारको होटलमा कसरी बस्ने हो सबैकुरा त्यसैमा निर्भर रहन्छ ।’
जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको नागरिक सुनुवाई स्थानीयबासी र पर्यटन व्यवसायीहरुले आफ्ना समस्या र चुनौतिहरु राखेका थिए । नागरिक सुनुवाईमा प्रस्तुतीकरण गर्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ छिरिङ किप्पा लामाले आ.व. २०८०/०८१ मा ११ जना, आ.व. २०८०/०८१ मा १४ जना र आ.व. २०८२/०८३ को साँढे तीन महिना अवधिमा ३ जनाले लेंक लाग्ने समस्याबाट ज्यान गुमाएको जानकारी दिए ।
आ.व. २०८०/०८१ मा ४लाख ५४ हजार ३२६ जना पर्यटक मुस्ताङ भित्रिएकोमा आ.व. २०८१/०८२ मा ७ लाख ५ हजार ७७९ जना पर्यटक मुस्ताङ भित्रिएको बताए । प्रनाउ लामाले चालु आ.व. २०८२/०८३ को कार्तिक १० गतेसम्म एक लाख ६६ हजार ७४३ जना पर्यटक मुस्ताङ भित्रिएको जानकारी दिए ।
यसैगरी आ.व. २०८०/०८१ मा मुस्ताङमा ६४ वटा सवारी दुर्घटना भएको छ भने आ.व. २०८१/०८२ मा ३९ वटा सवारी दुर्घटना भएको प्रनाउ लामाको भनाई छ । चालु आ.व.को साँढे तीन महिना अवधिमा ३ वटा सवारी दुर्घटना भएको प्रनाउ लामाको भनाई छ ।
रानीपौवा स्थित जनप्रयि युवाक्लव पुराङ रानीपौवाको व्यवस्थापन तथा सहजीकरणमा प्रहरीले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया