सहारा विद्यालयमा सहारा क्लबलाई बधाई तथा शुभकामना

समाधान संवाददाता २०८२ कार्तिक १७ गते १५:०१

पोखरा ।
बसपार्कको सहारा बाल आधारभूत विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बहुचर्चित सहारा क्लब पोखराको २७औँ वार्षिक साधारण सभा एवम् १४औँ अधिवेशनबाट नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।


विद्यालयको स्थापनाकालदेखि हालसम्म शैक्षिक क्षेत्रमा विभिन्न समयमा नजिकबाट रहेर उल्लेखनीय रुपमा सहयोग गर्दै आएको संस्थाका पदाधिकारीलाई बधाई दिइएको हो । विद्यालयका अध्यक्ष विक्रम थकालीले नवनिर्वाचित टिमलाई टीका–माला लगाई स्वागत र सम्मान गरे । विद्यालयका प्रधानाध्यापक लोचनाकुमारी अधिकारीले स्वागत मन्तव्य राखिन् ।


कार्यक्रमबीच निवर्तमान सहारा क्लब पोखराका अध्यक्ष तथा विद्यालयका पूर्व सल्लाहकार केशवराज बराललाई विद्यालयका तर्फबाट सम्मान स्वरूप उनको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान भयो । यससँगै जाइका संस्थाबाट अन्ना चुसिमा नाम गरेकी स्वयंसेवक शिक्षकलाई समेत स्वागत गरियो ।

Advertisement


मन्तव्यका क्रममा नवनिर्वाचित सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले यो कार्यक्रमको आयोजनाले सहारा विद्यालय र सहारा क्लब झनै नजिक रहने र आपसमा सहयोग तथा साझेदारी कायमै रहने प्रतिबद्धता व्यक्त गरे ।


वडाध्यक्ष दीपेन्द्र मर्सानीले नवनिर्वाचित टिमलाई बधाई तथा आगामी कार्यकालको शुभकामना व्यक्त गर्दै दुवै संस्थामा आफू जिम्मेवार रहेको र साथ सहयोग रहिरहने कुराको विश्वास दिलाए । विद्यालयका अध्यक्ष विक्रम थकालीले नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्न पाउँदा खुसी प्रकट गर्दै विद्यालयको उन्नति र विकासमा सहारा क्लबले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताए ।

Advertisement

आगामी दिनमा पनि सहारा क्लब पोखराको सहयोग, सद्भाव पाइरहेमा विद्यालयले आफ्नो उचाइ लिने कुराको विश्वास व्यक्त गरे । विद्यालयका शिक्षक सागर पौडेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका समिति, सहारा क्लब परिवार, शिक्षक तथा विद्यार्थीहरूको गर्विलो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया