कास्कीमा ‘जेनजी’ आन्दोलनका ९२ घाइते, ८ जनाले मात्र बुझे भैपरी खर्च

समाधान संवाददाता २०८२ कार्तिक १७ गते १६:०४
फाइल तस्बिर

पोखरा । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कास्कीमा घाइते भएका ९२ जनामध्ये हालसम्म जम्मा ८ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन्। जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते नै आन्दोलनका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च लिन सार्वजनिक रूपमा सूचित गरेको थियो।

गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीका आधारमा कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च वितरण भइरहेको कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिए। उनले भने, “आइतबारसम्म ८ जनालाई घाइते परिचयपत्र र रु २० हजारका दरले भैपरी खर्च प्रदान गरिएको छ। अन्य घाइतेहरू पनि सम्पर्कमा हुनुहुन्छ, आफ्नो आवश्यकता र अनुकूलता अनुसार उहाँहरू आउनुहोला।”

दसैँ, तिहारलगायतका चाडबाडको लामो बिदाका कारण पनि कार्यालयबाट सेवा लिन आउनेको सङ्ख्या कम भएको प्रशासकीय अधिकृत रेग्मीले बताए। परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत २० हजार उपलब्ध गराइएको उनको भनाइ छ।

Advertisement

भैपरी खर्चका लागि ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेका नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ। कार्यालयले घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न समेत सूचित गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया