ढल्यो धान, घट्छ उत्पादन

धनबहादुर गुरुङ २०८२ कार्तिक १९ गते १०:५०

पोखरा ।
लगातारको झरीपछि आइतबारदेखि पोखरामा मौसम खुलेको छ । बिहान बेलुका पानी पर्ने संकेत देइिए पनि दिउँसो घाम लागेकाले कृषकहरु धान खेततिर भेटिन थालेका छन् । उनीहरुमध्ये कोही पाकेको धान काट्न व्यस्त छन्, कोही पानी परेका कुनिउँ बनाएर राखिएका धान झाट्दै त केही ढलेको धान उठाउन तल्लीन भेटिन्छन् ।


किसानको एकमात्र कामना छ, ‘अब पानी (झरी) नपरोस्, बाँकी धान राम्ररी स्याहार्न पाइयोस् ।’ तर, बिहान बेलुकाको मौसमका कारण अझै ढुक्क छैनन् पोखरा १७ महतगौंडाका कृषक भरत भण्डारी । भण्डारी मंगलबार दिउँसो कुनिउँमा राखेको धान निकालेर झाट्दै गरेको अवस्थामा भेटिए ।


उनको मनमा शान्ति र अनुहारमा कान्ति थिएन । उनलाई करिब ३ रोपनीमा लगाएको ‘जेठोबुढो’ धान राम्रोसँग घर भिœयाउन सकिन्छ कि सकिन्न भन्ने पिरलो छ । ‘मधेस र अरु ठाउँमा जसो ठूलो पानी त परेको होइन तर, लगातार झरी पर्दा हामीलाई चिन्ता भयो,’ उनी भन्छन्, ‘अरु ठाउँमा जस्तो ठूलै नोक्सान नभए पनि हावा र पानीका कारण धान ढलेको छ । जसले गर्दा बाला र पराल कुहिने, मुसालाई खान सजिलो हुन्छ । अनि चामल पनि राम्रो हुँदैन ।’

Advertisement


बेमौसमी झरीकै कारण उत्पादानमा कमी आउनेमा भण्डारी सुनाउँछन् । ‘धान लगाउने बेलामा पानी परेन, अब उठाउने बेलाको पानीले कसलाई फाइदा गर्छ र,’ उनले थपे, ‘यस्तो भएपछि किसानलाई मर्का पर्ने नै भयो । म ३ रोपनीमा ‘जेठोबुढो’ धान लगाउँदै आएको छु । अघिल्ला अघिल्ला वर्षमा १० देखि १२ मुरी उत्पादन हुन्थ्यो, यो पालि निकै घट्नेवाला छ ।’


धान लगाउने कृषक पीडामा भएकाले सरकारले केही न केही योजना ल्याउनुपर्ने उनको भनाइ छ । पोखरामा एक सातादेखि भइरहेको वर्षाले घर भिœयाउन तयार भएको धान बालीमा क्षति पुर्‍याएको छ । पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट र सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ । किसानका खेतमा ‘जेठो बुढो’ धान घर भिœाउनका लागि तयार भएको छ । तर निरन्तर वर्षा हुँदा धान खेतमै छ ।

Advertisement


मेलापात गर्दाको खर्च, मलको खर्च, सबै दुःख गरेर फलाएको धान अहिले बेमौसमी पानी र हावाले ढल्काएर छाडेको छ । फलेका बाला सबै ढलेर केही गर्न नसकिने अवस्था रहेको बिरौटा फाँटका किसान ऋषिराम शर्माले बताए । ‘वर्खामा कति दुख गरेको लगाएको धान काट्ने बेलामा पानीले सत्यानाश बनाइदियो,’ शर्मा चिन्तित सुनिए ।

बेमौसमी झरी र हावाका कारण भित्रयाउने बेला भएको ध्यान ढल्ने, झर्ने, कुहिने हुँदा यसपालि उत्पादन घट्ने देखिएको छ


महतगौंडाकी अर्की कृषक देवी पोख्रेल पनि सकस महसुस गर्दै धान काटिरहेकी छन् । उनको धान हावाले ढालिदिएको छ । धान लगाउने बेला नआएको पानी स्याहार्ने बेला आउँदा आफू जस्तै अन्य कृषकको धान उत्पादनमा ह्रास आउने पोख्रेल सुनाउँछिन् । ‘यो वर्ष त के भयो भयो त नि । यो पटक मैले जेठोबुढो धान लगाएको हो । पाक्ने बेलामा हावाले वर्वाद बनाइदियो,’ अनादी धान काट्दै देवीले दुखेसो पोखिन्, ‘औषधी हुन्छ भनेर सधै यो गह्रामा अनादी लगाउँछु । पहिला पहिला १५ पाथी जति आउथ्यो । यो पाति पूरै ढलेको छ । बाला पनि राम्रो छैन । ५ पाथी पनि आउँछ कि नाई !’


महानगरभित्र ११ हजार २ सय हेक्टरमा धान खेती गरिएको छ । जसमा उन्नत स्थानीय धान र ‘जेठो बुढो’ लगाइएको छ । उन्नत स्थानीय धान उठाइसकेको र जेठो बुढो धान खेतमै रहेको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।


फल हाल्न लागेको र पाकेको जेठो बुढोलाई वर्षाले असर गरेको कडरियाले उल्लेख गरे । ‘अहिलेको बेमौसमी वर्षाले सबैभन्दा असर पुर्‍याएको भनेको ‘जेठोबुढो’ र ‘उन्नत’ जातलाई छ,’ उनले भने, ‘हाइब्रिड त छिटो पाक्ने भएकाले स्याहरिसकेको अवस्था छ । केही उन्नत जातहरु काट्दै अवस्थामा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेर पनि झरीका कारण नकाट्दा झर्ने, ढल्ने भएका छन् ।’


कडरियाका अनुसार महानगरमा लगाइएको धानखेतीमध्ये ४० प्रतिशतमा जेठो बुढो धान रोपिएको छ । बेमौसमी हावापानीले गर्दा पोखराको पहिचान बनाएको ‘जेठोबुढो’ जातको धान ढलेकाले उत्पादकत्व घट्ने कडरियाले बताए । ‘प्रकृतिसँग जुध्नुको विकल्प हामीसँग छैन । यसबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन कृषकहरुलाई हामीले अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘कृषकले बिउ तयारी, रोपाइँ, बजारीकरणसम्म समस्या भएको बेलामा उत्पादनको भण्डारण अवस्थामा आएको हावापानीले कृषकलाई असर पुर्‍याएको छ ।’


पोखरामा गत वर्ष ३८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष बढ्ने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण उत्पादनमा असर गर्ने देखिएको आर्थिक महाशाखा प्रमुख कडरियाले बताए । लामो समय पानी पर्ने र घाममा सुकाउन नपाउने अवस्थामा गुणस्तर घट्ने र मूल्यमा पनि ह्रास उनको भनाइ छ । यो अवस्थामा क्षतिपूर्तिका लागि राज्यले बाली बिमाको सुविधा पनि ल्याएको छ । तर त्यसमा कृषकको चासो नभएकाले आगामी दिनमा यसको कार्यान्वयमा सबै मिलेर लाग्नुपर्ने उनले सुझाए ।


कास्की जिल्लामा मात्र नभएर गण्डकी प्रदेशभर नै बेमौसमी हावापानीले धानबालीमा क्षति पुर्‍याएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए । प्रदेशका धान खेती हुने सबै जिल्लामा क्षतिको विवरण माग गरिरहेको उनले बताए । आफैं पनि निरीक्षणका लागि जिल्ला जिल्ला पुगिरहेको उनको भनाइ छ । गण्डकीको नवलपुरमा अली बढी तनहुँ, कास्की र स्याङ्जा जिल्लाका केही स्थानमा धानमा क्षति पुगेको भेटिएको उनले जानकारी दिए ।


पछिल्लो देशको परिस्थितिका कारण कृषकलाई क्षतिपूर्ति दिन पनि समस्या रहेको उनले सुनाए । ‘मन्त्रालयबाट कृषि कर्म गर्दा भइपरी आउने घटनामा क्षतिपूर्तिका लागि कास्कीलाई २० लाख र अरु जिल्लालाई प्रति जिल्ला १० लाख रुपैयाँका दरले दिने मन्त्रालयले तयारी गरेको छ,’ उनले भने, ‘त्यो रकमले अहिलेको क्षतिलाई केही पनि होला जस्तो भएन ।’

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया