जेनजी विद्रोहपछि सुनास कास्कीको सरकारी कार्यालय अवलोकन: सेवाप्रवाह चुस्त र पारदर्शी बनाउन आग्रह

समाधान संवाददाता २०८२ कार्तिक १९ गते १९:४७

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालसँग आबद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले सार्वजनिक सेवाप्रवाहलाई थप चुस्त, स्फूर्त र पारदर्शी बनाउन आग्रह गरेको छ। भदौ २३ र २४ गतेको जेनजी विद्रोहमा जलेका सरकारी कार्यालयहरूको स्थलगत अवलोकनपछि कार्यालय प्रमुखहरूसँगको भेटमा संस्थाले छरितो, मितव्ययी र सुशासनयुक्त सेवामा जोड दिएको हो।

संस्थाका अध्यक्ष सिरोजविजय कोइरालाको नेतृत्वमा बुधबार कास्कीका चार सरकारी कार्यालयले अहिले प्रदान गरिरहेको सेवाप्रवाहको स्थलगत अवलोकन गरियो। सबै संरचना जलेको अवस्थामा पनि सरकारी कार्यालयले नागरिकप्रति सेवा दिन देखाएको तत्परताको अध्यक्ष कोइरालाले प्रशंसा गरे। उनले राज्यका निकायप्रति घटेको जनविश्वास बढाउन विद्युतीय शासनमार्फत सेवा विस्तार गरी विश्वास आर्जन गर्न सुनास कास्कीले सरकारी सेवाप्रदायक निकायहरूलाई आग्रह गरेको जानकारी दिए।

कार्यालय प्रमुखहरूलाई सार्वजनिक सेवाप्रदायक निकायमा अबको संरचना अझै छरितो, सरल, प्रभावकारी र जवाफदेही बनाउन संस्थाका तर्फबाट सुझाव पनि दिइएको थियो। साथै, कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीसँगको भेटमा सार्वजनिक खरिद प्रणालीको पालना, सहयोग तथा अनुदानहरूको पारदर्शी विवरण सार्वजनिकीकरण, विद्युतीय सुशासनका औजारहरूको प्रयोग, खुल्ला बजेट र खर्च प्रणालीलाई सुनिश्चितता, सामाजिक जवाफदेहिताका संयन्त्रहरूको तेस्रो पक्षबाट सञ्चालन, सदाचार नीति बनाई लागू गर्ने तथा भ्रष्टाचार नियन्त्रणका प्रवद्र्धनात्मक कार्यहरूमा सक्रिय हुन संस्थाका तर्फबाट ध्यानाकर्षण गराइएको थियो।

Advertisement

सुनासले पोखरा महानगरपालिका, जिल्ला मालपोत कार्यालय कास्की, सवारी तथा लाइसेन्स कार्यालय कास्की लगायतका कार्यालयहरूको विद्यमान सेवाप्रवाहको अवस्था, जटिलता, सुशासन र सेवा सरलीकरणसम्बन्धी भावी कार्ययोजनाका विषयमा केन्द्रित भएर कार्यालय प्रमुखहरूसँग भेटघाट र स्थलगत कार्यालयहरूको अवलोकन गरेको हो। भेटमा कार्यालय प्रमुखहरूले नागरिकको सेवाका प्रति थप जिम्मेवार भएको, विषम परिस्थितिमा पनि सबैको सहयोग र सहकार्यमा सेवा सुरु गरिएको र सेवा सरलीकरण र छिटोछरितो बनाउने विषयमा प्रतिबद्ध भएको संस्थालाई जानकारी गराए।

यो साता कास्कीमा रहेका सेवाप्रदायक नागरिकहरूको भिड लाग्ने जिल्ला तथा प्रदेश कार्यालयहरूको विद्यमान सेवाप्रवाहका विषयमा स्थलगत अवलोकन र कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालसँग आबद्ध संस्था सुशासनका लागि नागरिक समाजका कार्यकारी अधिकृत भानु पराजुलीले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया