जेनजी आन्दोलनमा भएको आपराधिक कार्यमा संलग्नविरुद्ध किटानी जाहेरी
किटानी जाहेरी परेकाहरूको नाम र ठेगाना गोप्य राखिएको छ

नवलपुर ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै नवलपुरका जनप्रतिनिधिहरूले बुधबार किटानी जाहेरी दिएका छन् । मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयमा पुगेको जनप्रतिनिधिहरूको टोलीले प्रहरी प्रमुख युवराज खड्कासमक्ष जाहेरी बुझाएको हो ।
यस टोलीमा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष पूर्णसिंह राना, मध्यविन्दु उपप्रमुख पूर्णकला चौधरीसहित वडाध्यक्षहरू, सदस्यहरू र सामाजिक अगुवाहरु संलग्न थिए ।
मध्यविन्दु नगर प्रमुख अधिकारीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा केही अराजक समूह, उद्दण्ड व्यक्तिहरूले राजनीतिक प्रतिशोध साँधेर सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट मच्चाएको बताए । उनले यस्ता गतिविधि कुनै आन्दोलन नभई हिंसा रहेको भन्दै यथाशीघ्र त्यस्ता कार्यमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
आन्दोलनका क्रममा भएका अमानवीय र आपराधिक क्रियाकलापले जनप्रतिनिधि मात्रै नभई प्रहरी र प्रशासन समेतको मनोबल गिरेको अधिकारीको भनाइ छ । यदि त्यस्ता आपराधिक काममा संलग्नलाई कारबाही नगरी मौन बसेमा स्थानीय सरकारले सेवा प्रवाह गर्न नसक्ने र प्रहरी प्रशासनले समेत सुरक्षा दिन नसक्ने उनको तर्क थियो । नगर प्रमुख अधिकारीले सही ढङ्गबाट अनुसन्धान गरी प्रमाण पुगेकालाई कानुन बमोजिम कारबाही गर्न अनुरोध गरे ।
जाहेरी बुझेपछि प्रहरी प्रमुख युवराज खड्काले अपराधमा संलग्न कुनै पनि व्यक्ति उम्कन नसक्ने बताए । उनले प्रचलित कानुन बमोजिम कारबाही हुने र जाहेरीका आधारमा अनुसन्धान सुरु गरी प्रत्यक्ष संलग्नहरूलाई कारबाही गर्ने जानकारी दिए ।
अनुसन्धानमा बाधा पुग्ने भएकाले अहिले किटानी जाहेरी परेकाहरुको नाम र ठेगाना गोप्य राखिएको प्रहरी प्रमुख खड्काले बताए । घरमा आगजनी, लुटपाट र तोडफोड गर्नेहरूको फोटो, भिडियो, सामाजिक सञ्जालका स्टाटस लगायतका प्रमाणसहित किटानी जाहेरी दिइएको मध्यविन्दु नगर प्रमुख अधिकारीले जानकारी दिए । उनले आपराधिक कार्यमा प्रत्यक्ष संलग्न रहेका र उनीहरुलाई सघाउने, उक्साउने लगायत सबैलाई कारबाहीको माग गरेर किटानी जाहेरी बुझाएको बताए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया