हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए

समाधान संवाददाता २०८२ कार्तिक २३ गते ५:४१
तस्बिर सौजन्यः सन्दीप गुरुङ

मुस्ताङ । मुस्ताङका उच्च लेकमा पालिएका याकचौँरीहरूलाई बेँसीमा सारिएको छ। एक साताअघिको भारी हिमपात र अत्यधिक चिसोका कारण उनीहरूलाई तल्लो क्षेत्रमा सारिएको हो। उच्च लेकमा चरनक्षेत्र पूरै हिउँले ढाकिएपछि र पानीका मुहान जमेपछि याकचौँरीलाई चिसोबाट जोगाउन बेँसीका न्यानो स्थानमा लगिएको हो।

मुस्ताङमा याकचौँरीको व्यवस्थापन बर्सेनि यही तरिकाले गरिन्छ। हिमपात सुरु भएपछि कात्तिकदेखि जेठ महिनासम्म उनीहरूलाई बेँसीमा झारिन्छ र हिउँ पग्लेर गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेक तथा खर्कमा पुर्‍याइन्छ। हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले यसरी नै चौँरी व्यवस्थापन गरिँदै आएको बताए।

उच्च लेकमा हिमपातका कारण चरनक्षेत्रको अभाव हुने, घाँस, पानी र आहाराको व्यवस्थापनमा समस्या हुने तथा गोठालाहरूलाई पनि चिसोले सास्ती दिने भएकाले याकचौँरीलाई बेँसीमा झारिन्छ। गर्मी सुरु भएपछि भने उनीहरूलाई उच्च लेकका अस्थायी गोठमा लगिन्छ। हिराचनका अनुसार, हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको ४ हजार मिटरभन्दा माथिको उच्च लेकमा याकचौँरी पालिन्छ।

Advertisement

हिमपात र जाडो छल्न थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका करिब १ हजार याकचौँरीलाई बेँसीमा झारिएको हिराचनले बताए। त्यसैगरी, थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका ८ घरपरिवारका करिब ५ सय याकचौँरी र थासाङ–१ र घरपझोङ–२ मा पर्ने बतासे लेकमा रहेका ६ घरपरिवारका करिब ७ सय याकचौँरीलाई पनि हिमपातसँगै जाडो छल्न बेँसीमा सारिएको छ।

थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनका अनुसार, मार्चे लेकमा १०, मुलिखर्कमा ८ र बतासे लेकमा ६ वटा चौँरीगोठ छन्। मार्चे लेकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घम्ती गोठ निर्माण भएको उनले जानकारी दिए। थासाङ गाउँपालिकाअन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरीपालन व्यवसाय गर्दै आएका छन्।

Advertisement

घरपझोङ–४ जोमसोमका याकचौँरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब ५ सयभन्दा बढी चौँरी हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएका छन्। समुद्री सतहको उच्च स्थानमा गोठ खडा गरी पालिएका शेरचन र घर्तीका चौँरी नमुख लेकबाट तलको पारिलो स्थानमा सारिएको हो। भूपेन्द्रले हिउँदयाममा चौँरीको रेखदेखमा समस्या हुने र उच्च लेकमा घाँस तथा खानेपानीको समस्या हुने भएकाले बेँसीमा सार्नुपरेको बताए। घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका गरी ७ घरपरिवारले याकचौँरी पालेका छन्।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यामा १ र वडा–४ ध्येगाउँमा १ गरी २ घरले करिब ५ सय हाराहारीमा याकचौँरीपालन व्यवसाय गरेको ताङ्ग्याका कर्मा साङ्वो गुरुङले जानकारी दिए। बर्खायाममा उच्च लेकको कराङमा रहेका चौँरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा राखिएको उनले बताए। त्यसैगरी, लोघेकर–४ ध्येका चौँरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौँरी बेँसी नजिकको लेकमा ल्याएर राखेको बताए।

यसैगरी, माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ र सम्जुङमा पनि चौँरीपालन गरिएको छ। पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा रहेको व्यावसायिक याकचौँरीपालन जलवायु परिवर्तनका कारण संकटमा पर्न थालेको छ। जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँसको अभाव हुनु र हिमचितुवालगायतका वन्यजन्तुको आक्रमणबाट याकचौँरीलगायतका घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत चौँरीपालन व्यवसाय संकटमा परेको हो।

यहाँ पालिएका चौँरी तथा याकनाकपालनलाई जलवायुको संकट थपिएको छ। भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौँरीपालनमा परेको छ। मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार बनाउँछन्। चौँरीको पुच्छर हिन्दू धर्मालम्बीहरूले पूजा कोठामा राख्ने भएकाले यो महँगो मूल्यमा बिक्री हुन्छ।

घरपझोङ र थासाङका याकचौँरीपालकले बर्सेनि वैशाख र भदौमा याकचौँरीको आलो रगत निकालेर दोहोरो फाइदा लिन्छन्। यहाँ वयस्क याकचौँरीलाई मासुका रूपमा समेत उपयोग गरिने भएकाले एउटै जिउँदो याकको मूल्य १ लाख रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्छ।रासस

तपाईको प्रतिक्रिया