मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो

सुन्दरकुमार थकाली २०८२ कार्तिक २३ गते १०:३४

जोमसोम ।

जोमसोमः मुस्ताङको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा बर्सेनि सवारी साधनको चाप बढ्दै गए पनि ट्राफिक राजस्व संकलन भने तुलनात्मक रूपमा घट्दो पाइएको छ ।


कोरला सडक बर्सेनि सहज हुँदै गएको अवस्थामा सवारी साधन भित्रिने क्रम बढ्दो रहे पनि यहाँको ट्राफिक व्यवस्थापन, ट्राफिक सक्रियता, ट्राफिक सचेतना लगायत ठाउँ–ठाउँमा ट्राफिक पोस्ट स्थापना गरिएका कारण ट्राफिक राजस्व संकलनमा कमी आएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इन्चार्ज प्रहरी सहायक निरीक्षक जनकलाल श्रेष्ठले जानकारी दिए ।

Advertisement

इन्चार्ज श्रेष्ठका अनुसार गत आर्थिक वर्षदेखि सवारी मापदण्डविपरीत सवारी चलाउनेका लागि कारबाही प्रक्रियामा लैजाँदा ‘ट्राफिक भोलुसन रेकर्ड सिस्टम’ (टिभीआरएस) लगायतका कारण ट्राफिक राजस्व विगतका वर्षहरूको भन्दा निकै कम संकलन भएको हो ।


आव २०८१/०८२ मा बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका २ हजार ९२ वटा सवारीलाई कारबाही गर्दा २६ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ । संकलित राजस्व आव २०८०/०८१ को तुलनामा ३६.०५ प्रतिशत कम रहेको ट्राफिक इन्चार्ज श्रेष्ठको भनाइ छ । यसैगरी गतवर्ष अघिल्लो वर्षको तुलनामा ६२.६२ प्रतिशत सवारी साधन कम कारबाहीमा परेका हुन् ।

Advertisement

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २० गतेसम्ममा ११ लाख ट्राफिक राजस्व संकलन


इन्चार्ज श्रेष्ठका अनुसार आव २०८०/०८१ मा ५ हजार ५९८ सवारी साधनलाई कारबाही गर्दा ४१ लाख ५७ हजार ५ सय रुपैयाँ ट्राफिक राजस्व संकलन भएको थियो । यसैगरी आव २०७९/०८० मा मुस्ताङ भित्रिएका ३ हजार ४ सय ८५ वटा सवारी साधन कारबाहीमा पर्दा ४४ लाख ६३ हजार राजस्व संकलन भएको ट्राफिक राजस्व तथ्यांकले देखाएको छ ।


चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २० गतेसम्ममा ११ लाख ट्राफिक राजस्व संकलन भएको जिल्ला ट्राफिक इन्चार्ज जनकलाल श्रेष्ठले बताए । इन्चार्ज श्रेष्ठका अनुसार साउनमा १२२ सवारी साधनलाई कारबाही गर्दा १ लाख ५९ हजार, भदौमा ३ सय ४ सवारी साधनलाई कारबाही गर्दा ३ लाख ८५ हजार, असोजमा २४२ वटा सवारी साधनलाई कारबाही गर्दा २ लाख १२ हजार रुपैयाँ ट्राफिक राजस्व सङ्कलन भएको हो । चालु आर्थिक वर्षको अनुपात हेर्दा (टिभीआरएस) रेकर्ड सिस्टममा गए पनि गतवर्षको भन्दा आंशिक ट्राफिक राजस्व वृद्धि हुने अनुमान गरिएको छ ।


यसैगरी पछिल्लो तीन आर्थिक वर्षमा राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा ४३ वटा सवारी दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक इन्चार्ज जनकलाल श्रेष्ठले जानकारी दिए । इन्चार्ज श्रेष्ठका अनुसार आव २०७९/०८० मा २९ दुर्घटना हुँदा ४ जना, आव २०८०/०८१ मा ८ वटा सवारी दुर्घटना हुँदा २ जना र आव २०८१/०८२ मा ६ वटा सवारी दुर्घटना हुँदा ३ जना व्यक्तिले ज्यान गुमाएका छन् । यस्तै चालु आ.व.को तीन महिना अवधिमा तीन वटा सवारी दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन् ।


मुस्ताङमा जिल्ला प्रहरी कार्यालयको पहलमा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले गतवर्षदेखि निरन्तर सवारी दुर्घटना न्यूनीकरण तथा लेन लाग्ने समस्या लगायतका बारेमा मुस्ताङ भित्रिएका पर्यटक तथा सवारी साधनका चालकहरूलाई लक्षित गरी ‘चालक सँग एक मिनेट’ र ‘यात्रु सँग दुई मिनेट’ नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया