आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

समाधान संवाददाता २०८२ कार्तिक २३ गते १९:४७

पोखरा ।  पोखरामा जेएन जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गरी चलाइरहेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दै जाँदा चोरी भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

मिति २०८२ साउन २४ गते भएको आन्दोलन, तोडफोड तथा आगजनीको क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधन चोरी भएको भन्ने सूचना प्रहरीले पाएको थियो। यसै सूचनाका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको अगाडि पार्किङ गरी राखिएको प्रहरी कर्मचारीको ग ६ प २०६१ नम्बरको होण्डा मोटरसाइकल चोरी गरी चलाइरहेको अवस्थामा कास्की प्रहरीले आरोपितहरूलाई नियन्त्रणमा लिएको हो।

कास्की प्रहरीका अनुसार, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ५, पर्स्याङ बस्ने ३६ वर्षीय विश्वराज परियार र पोखरा म.न.पा. वडा नम्बर १३, शान्तिटोल बस्ने ३२ वर्षीय देवकुमार लोदियालाई २०८२ कार्तिक २१ गते दिउँसो ३ बजे पर्स्याङबाट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।

Advertisement

पक्राउ परेका दुवै जनालाई सम्मानित कास्की जिल्ला अदालतबाट चोरीसम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया