कांग्रेसमा महाधिवेशन विवाद : संस्थापनको प्रदेशैपिच्छे भेला

पोखरा ।
जेन–जेड आन्दोलनपछि नेपाली कांग्रेसभित्र महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा तीव्र मतभेदछ । यही विषयमा केन्द्रीय भई कार्यसमिति दुई खेमामा विभक्त भएको छ । एकातिर संस्थापन पक्ष छ, जसले प्रतिनिधिसभा निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने पक्ष लिएको छ, भने अर्कातिर इतर पक्षले निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान छाडेको छैन ।
इतर पक्षले ५४ प्रतिशत महाधिवेश प्रतिनिधिको हस्ताक्षर नै संकलन गरिसकेका छन् । यसरी कांग्रेसमा संस्थापन पक्ष र इतर पक्षबिच सहमति नजुट्दा आन्तरिक विवाद र आरोप प्रत्यारोप चुलिएको छ । संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले त पार्टी यस्तै अनिर्णयको बन्दी भए कांग्रेस फुट्न सक्ने चेतावनी नै दिएका छन् ।
यसबीच, संस्थापन पक्षका नेताहरूले भने नियमित महाधिवेशनका पक्षमा प्रदेश प्रदेशमा गुट भेला आयोजना गर्न थालेका छन् । यही सिलसिलामा बुधबार उनीहरु पोखरा आइपुगेका छन् । यसअघि उनीहरूले बागमती प्रदेशमा भेला गरी गण्डकीमा दोस्रो चरणको भेला आयोजना गरेका हुन् ।
‘गण्डकी प्रदेशको पोखरामा हाम्रो दोस्रो भेला हो । यसअघि कात्तिक २० गते बागमतीमा गरेका थियौं । पोखरा सकेर हामी कोशी प्रदेश जान्छौं,’ संस्थापन पक्षका एक नेताले भने । पोखरामा भएको भेलामा गण्डकी प्रदेश कांग्रेसका उपसभापति तथा प्रदेशसभा पूर्वसदस्य मेखलाल श्रेष्ठको नेतृत्वमा महाधिवेश प्रतिनिधि तथा नेता कार्यकर्ता उपस्थित भएका हुन् ।
उनीहरुले अहिलेको परिस्थितमा महाधिवेशनभन्दा पनि मिलेर चुनावतिर जानुपर्नेमा जोड दिएका छन् । पोखराको भेलामा गण्डकी प्रदेशसभा सदस्यहरु सरस्वती गुरुङ, दीलमाया पौवी नेपाली, जीत शेरचन लगायत नेताको उपस्थिति थियो । सहभागी नेताहरूले अहिलेको राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक लोकतन्त्र र क्रियाशील सदस्यताको विवाद समाधानका विषयमा धारणा राखे ।
प्रदेशसभा सदस्य सरस्वती गुरुङले भनिन्, ‘गलतलाई गलत र सहीलाई सही भन्न सक्ने वातावरण बनाउनुपर्छ । निर्दोषलाई निर्दोष भन्नुपर्छ । यस्तो बेलामा सबैलाई एकजुट भएर अघि बढ्नुपर्छ ।’ गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले कांग्रेसको ऐतिहासिक भूमिकालाई स्मरण गरे ।
‘जब देशमा संकट पर्छ, नेपाली कांग्रेसले त्यस बेला एकीकरण गरेर अगाडि बढेको इतिहास छ । अहिले पनि त्यही आवश्यक छ । यस्तो बेला विशेष महाधिवेश भनेर पाटीलाई कमजोर बनाउने काम गर्नुभएन,’ उनले भने, ‘जेन–जेड आन्दोलनले राष्ट्रिय हितमा प्रश्न उठाएको छ । यता कांग्रेस कमजोर हुने हो कि भन्ने चिन्ता छ । त्यसैले हामीले विधि र विधानअनुसार अघि बढ्न आवश्यक छ, हिजोको परम्पार अनुसार नै महाधिवेश गर्नुपर्छ ।’
नेता शेखर कोइरालाले पार्टी अनिर्णयको बन्दी भए फुट्न सक्ने चेतावनी दिएका बेला संस्थापन पक्षका नेताहरू भने नियमित महाधिवेशनको गुट भेला गर्दै छन्
श्रेष्ठले क्रियाशील सदस्यता विवाद नै नटुंगिएका बेला महाधिवेशनको नारा लगाउनु उचित नभएको तर्क गरे । ‘३२ वर्षभन्दा मुनिका युवालाई समेट्नुपर्छ । सदस्यता प्रमाणीकरण एक साताभित्र सकिनुपर्छ । पुरानो सदस्यता नवीकरण नभएसम्म क्षेत्रीय प्रतिनिधि टुंगो लगाउन हुँदैन,’ उनले भने । भेलामा उपस्थित भएका एमबहादुर मल्ल, आदर्श मल्ल र याम खत्रीले पनि सदस्यता नवीकरण पूरा नगरी अघि बढ्नु गलत हुने बताएका छन् ।
‘देशमा बेथिति बढ्दै गएको छ । १२ बुँदे सहमतिबाट देश अगाडि बढेको थियो, त्यसैले कांग्रेसले सुधारका लागि विशेष महाधिवेशनको बहसलाई गम्भीरतापूर्वक लिनुपर्छ, तर बेमौसमी बाजा बनाउन आवश्यक छैन,’ भेलामा उपस्थित सुरेन्द्र बस्नेतले भने ।
चापाकोटकी उपमेयर इसा रानामगरले अधिवेशनमा हुने गुटबन्दी अधिवेशन सकिएपछि बिर्सिनुपर्ने बताइन् । उनले गुटबन्दीमा देखिनेहरूलाई कारबाही गर्नुपर्ने विचार राखिन् । इन्दिरा निरौलाले कांगेसमा अब युवाको पार्टी बन्नुपर्ने बताइन् । उनले कांगेसले सहिदहरूको रगत बिर्सनु नहुने बताइन् ।
इतर पक्षका गगन–विश्वप्रकाशलाई लक्षित गर्दै उनी सामाजिक सञ्जाललाई दुर्गन्धित नबनाउन आग्रह गरिन् । उनले युवा परिचालन गरेर महाधिवेशनको विपक्षमा उभिनेलाई दुत्कार्ने प्रयास भएको बताइन् । ‘युवाको नाममा भगवान् ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ उनले भनिन् ।
भेलामा निर्मल कर्माचार्यले नेताहरूले कार्यकर्तालाई निरंकुश बनाएको आरोप लगाए । ‘यो पार्टीको मात्र होइन, देशको कुरा हो । कांग्रेसलाई बलियो बनाउन विचारको एकता आवश्यक छ, विवादको होइन,’ उनले भने । प्रदेश सभा सदस्य जित शेरचनले लोकप्रियतावादको पछि नलाग्न आग्रह गरे । उनले विगतका गल्तीबाट सिकेर एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
क्रियाशील सदस्यता प्रणाली ठीक बनाएर फागुनमा निर्वाचन र बैशाखमा महाधिवेशन गर्न गर्नुपर्ने उनको भनाइ छ । भेलामा दीलमाया पौवीले नेपालीले कांग्रेसको आन्तरिक एकताले युवाको सहभागितामार्फत पार्टी बलियो बनाउनुपर्नेमा जोड दिइन् ।
संस्थापन पक्षले प्रदेश प्रदेशमा गर्दै आएको यस्तो गुट भेलाबाट अहिले कांग्रेसभित्रको महाधिवेशन विवाद अझ प्रष्ट र तीव्र बनेको छ । अब केन्द्रीय नेतृत्वले नियमित महाधिवेशन र विशेष महाधिवेशनबीचको विवाद कसरी सुल्झाउँछ भन्नेमा धेरैको नजर केन्द्रित छ । कांगेसमा नियमित प्रक्रिया अनुसार मंसिर २८ गते वर्तमान केन्द्रीय कार्यसमितिको पदावधि सकिँदै छ ।







कांग्रेसमा महाधिवेशन विवाद : संस्थापनको प्रदेशैपिच्छे भेला
सम्पादकीय—स्रोत खोज्ने कि करदाताको ढाड सेक्ने ?
७ जिल्लाका सिडिओ फेरिए, मुस्ताङमा अजिता शर्मा
वडाध्यक्षको पहल र क्लब अध्यक्षको सक्रियताले लालीगुराँस एशोसिएसन राष्ट्रिय लिगमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया