धार्मिक गन्तव्यस्थल बन्दै थानीमाई

समाधान संवाददाता २०८२ कार्तिक २७ गते १४:३२

दमौली ।
तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भएको छ । यहाँ फूलको डोली भित्र्याउन देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।


कात्तिकका २ वटा मंगलबारमा १५ हजार भन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेका थानीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कात्तिकको दोस्रो र तेस्रो मंगलबार मन्दिरमा १५ हजार ५ सय ५७ जना भक्तजनले दर्शन एवं पूजाआजा गरेका समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । कात्तिकको दोस्रो मंगलबार (११ गते) ८ हजार र तेस्रो मंगलबार (१८ गते) ७ हजार ५ सय ५७ जना भक्तजनले पूजाआजा गरेका हुन् ।


कात्तिकको पहिलो मंगलबार औँसी तिथि परेकाले फूलको डोली नभित्र्याइएको थापाको भनाइ छ । २ वटा मंगलबार मन्दिरमा एक सय ४४ वटा फूलको डोली भित्रिएको छ । अध्यक्ष थापाले तनहुँबाट ५९, लमजुङबाट ३५, गोरखाबाट २३, चितवनबाट १६, काठमाडौँबाट तीन, कास्कीबाट सात र नवलपरासीबाट एक डोली भित्रिएको जानकारी दिए ।

Advertisement


प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । ती महिनाका मंगलबार मन्दिरमा फूलको डोली चढाउने सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको समितिका अध्यक्ष थापाले सुनाए ।


भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । ‘परिक्रमापछि माथि थुम्कास्थित मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना तथा भाकल पूरा होस् वा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गर्दछ’, उनी भन्छन् ।

Advertisement

प्रत्येक सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा उक्त डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । समुन्द्री सतहबाट १ हजार २ सय मिटर उचाइमा अवस्थित मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृंलाका दृश्य देखिन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख र मन्दिरको भेटीबाट संकलित १ लाख गरी २० लाख लागतमा मन्दिर पुनर्निर्माण गरिएको थियो ।


विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटेनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि उक्त स्थानमा पूजाअर्चना सुरु भएको ज्येष्ठ स्थानीय बताउँछन् । रासस

तपाईको प्रतिक्रिया