बोट मर्न थालेपछि कागती किसानलाई सुर्ता

ढोरपाटन ।
जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ३ महिना अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुन थालेको छ । सुरुमा बोट पहेँलो हुने र एक महिनामा सबै सुक्ने समस्या रहेको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले किसानको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले कागती मरिरहेको बताए । अहिले बोटमा लटरम्म फल रहेको हुँदा उपचार गर्न नसकिने भन्दै फल टिपेर सकेपछि जरा खनेर उपचार गरिने उनको भनाइ छ । फल नदिएका बोटको भने उपचार हुने अधिकारीले सुनाए ।
उनी भन्छन्, ‘कागतीका बोट सुक्न थालेपछि धेरै ठाउँका किसानले हामीलाई फोन गरेर गुनासो गर्नुभयो, उहाँहरूको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले यो समस्या आएको पत्ता लगायौँ, यसका उपचारका विधि छन्, फल भएको बोटमा अहिले उपचार गर्न मिल्दैन, फल टिपेर सकेपछि जराको माटो खनेर उपचार गर्नुपर्छ, यो रोगले धेरै क्षति पुर्याएको छ ।’
निसीखोला गाउँपालिका ४ का किसान चक्रबहादुर रोकाले बारीमा लगाएका अधिकांश बोट मर्न थालेको सुनाए । टिप्ने बेलाको कागतीका दाना खस्नाका साथै बोट नै मरेको उनको भनाइ छ । अघिल्लो वर्ष लगाएका बिरुवासमेत मर्न थालेको रोकाले उल्लेख गरे । गाउँको पाखो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा कागती खेती सुरु गरेका मगरलाई बोट मर्दा लाखौँको क्षति हुने चिन्ता छ ।
‘बारीमा भएका कागतीका कुनै पनि बोट बाँकी छैनन्, सबै सुकेर मर्न लागेका छन्, कोहीका हाँगा सुकेका छन्, कोहीको पूरै बोट नै सुकेको छ, कृषि प्राविधिकलाई समस्याका बारेमा जानकारी त गराएका छौँ तर समाधान भएको छैन, बारीमा पुराना कागतीका रूख थिए, सुरुमा ती रूखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो,’ उनको गुनासो छ ।
स्थानीय तमबहादुर खत्रीले १ सय २० बोटमध्ये ९० भन्दा बढी बोटमा रोग देखिएको जनाए । । आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उनको भनाइ छ । अघिल्लो वर्ष पनि धुलोको प्रकोपले धेरै बोट कागती मरेको खत्रीले बताए । गाउँका सबै किसानको कागती बगानमा यो रोग देखिएको छ ।
जिल्लामा हाल ७ सय ९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूल खेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस







बोट मर्न थालेपछि कागती किसानलाई सुर्ता
लिटिल स्टेप माविमा खेलकुद
सामुदायिक प्रहरीको बटुकलाई न्यानो कपडा सहयोग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया