
पोखरा ।
आपत्कालीन उपचारको खोजीमा लेखनाथको तालचोकबाट ट्याक्सीमा पोखरा बजारतिर हुइँकिरहेका एक बिरामीलाई विजयपुरको ट्राफिक जामबाट उद्धार गरी बुढीबजारस्थित लेखनाथ सिटि अस्पताल पुर्याए स्थानीय युवा कपिल पौडेलले ।
गत वर्ष तालचोक डाँडाकोनाक सडक खण्डमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । स्थानीय केही युवाहरूले उनलाई ट्याक्सीमा राखेर पोखरा बजारतिर लागेका बेला विजयपुरमा सडक जाम भयो ।
सोही बाटो मोटरसाइकलमा पोखराबाट विजयपुर क्रस गर्न लागेका कपिलले रक्ताम्य घाइतेलाई ट्याक्सीको झ्यालबाट देखे । जाम खुल्ने सम्भावना नदेखेपछि उनले मोटरसाइकल साइड लगाई, अस्पताल नजिकै रहेको जानकारी दिँदै ट्याक्सी फर्काउन लगाए र आफू पनि सँगै पोखरा २६ बुढीबजारस्थित लेखनाथ सिटि अस्पताल पुगे । उनी भन्छन्, ‘त्यस दिनको घटनाले लोकल ठाउँमा स्वास्थ्य सेवाको महत्व वास्तवमै गहिरो गरी गढ्यो मेरो दिल र दिमागमा ।’
कपिलका भावना र अनुभवमा समग्र लेखनाथवासीकै भावना प्रतिविम्बित छ । झन्डै एक दशकअघि पोखरा उपमहानगरपालिकामा गाभिएर पोखरा महानगरपालिका बनेको साविक लेखनाथ नगरपालिका विकास र अवस्थामा भने सधैँ ओझेलमा रहेको महसुस गर्छन् यहाँका धेरै मानिस । कपिलले अनुभव गरेको यही घटना र यही अस्पताल त्यसको एउटा उदाहरण हो ।
लेखनाथ क्षेत्रका बिरामीहरूलाई स्थानीयस्तरबाटै सेवा सुविधा प्रदान गर्न पहिलो निजी अस्पतालका रूपमा विसं २०७५ सालमा लेखनाथ सिटी अस्पताल स्थापना भयो । स्थानीय केही युवा र सामाजिक व्यक्तिहरूको ४ करोड रुपैयाँभन्दा बढी लगानीमा यो अस्पताल सुरु भएको थियो ।
सेवा सुविधा थप्दा पनि डाक्टर पाउनै गाह्रो हुने र डाक्टर भेट्टाएपछि बिरामी पाउनै गाह्रो
‘तर पनि किन हो खोइ, स्थानीयले नै त्यति वास्ता गर्दिनुभएन, त्यसैले भनेजस्तो, सोचेजस्तो र गर्न खोजेजस्तो भएको छैन,’ अस्पतालका संस्थापक अध्यक्ष स्थानीय उदिपराज ढुंगानाले भने । करिब एक दशकको यात्रामा यस अस्पतालले अनुभव गरेका चुनौतीहरू वास्तवमै ध्यान खिच्न लायक छन् ।
अस्पतालका म्यानेजिङ डाइरेक्टर आकाश बस्नेत लगानी गरेर सेवा सुविधा थप्दा पनि डाक्टर पाउनै गाह्रो हुने र डाक्टर भेट्टाएपछि बिरामी पाउनै गाह्रो हुने बताउँछन् । उनी भन्छन्, ‘स्थानीय अस्पताललाई विश्वास नगरिनु स्थानीयस्तरमा रोग नै जस्तो छ ।’ चिनजानका बिरामीहरू समेत कैयौँ पटक त्यही बाटो कटेर पोखरा बजारका अस्पताल चाहर्न पुगेको कैयौँपटक आफूले थाहा पाएको उनले बताए ।
अर्कातिर, स्थानीय अस्पतालमा सेवा अभाव हुने चिन्ता तथा पुगेर पनि फर्किनु पर्ने र बिरामीको समय बर्बाद हुने शंकाले पनि मानिसहरूले स्थानीय अस्पतालहरूलाई बाटोमै छोडिदिने गरेको अनुभव डाइरेक्टर बस्नेतले सुनाए । उनका अनुसार, पोखरा बजारभित्रका कैयौँ नाम चलेका अस्पतालका जत्तिकै सेवा सुविधा यही अस्पतालमा छन् ।
पछिल्ला दिनहरूमा भने विस्तारै यस अस्पतालको महत्त्व आम उपभोक्तामा उजागर भइरहेको हो कि भन्ने महसुस हुन थालेको केही स्थानीय तथा सञ्चालक समितिका सदस्यहरू बताउँछन् । अस्पतालमा सुरुदेखि नै एमडीका रूपमा कार्यरत बस्नेतका अनुसार, अस्पतालको स्तरोन्नति गर्नका लागि अस्पतालले हालसालै गाइनोकोलोजी, पेडियाट्रिक लगायतका सेवाहरू थप गरेको छ । यसअघि नै यहाँ अर्थोपेडिक्स, जेनरल फिजिसियन, इएनटी, छाला रोग, ल्याब लगायतका सेवा प्रदान गरिँदै आइएको डाइरेक्टर बस्नेतले बताए ।
उनका अनुसार, अस्पताल आइसियु र भेन्टिलेटर पनि सुरु गर्ने तरखरमा छ । अस्पतालमा मासिक ४०० को हाराहारीमा बिरामी आउँछन् । ’तर पनि यहाँको लगानी धान्न यो धेरै अपर्याप्त छ,’ अस्पताल सम्बद्ध व्यक्ति तथा कर्मचारी भन्छन् । त्यसैले उनीहरूले अस्पताललाई आम जनसमुदायमाझ परिचित गराउने उद्देश्यले समुदायहरूमै पुगेर सामाजिक उत्तरदायित्वका क्याम्पेनहरू पनि चलाएका छन् ।
साविक लेखनाथ नगरपालिकामा रहेको एका दुई मात्र सरकारी अस्पतालमध्ये सबैभन्दा पुरानो शिशुवा अस्पताल हो, जुन प्राथमिक अस्पताल सरहको सेवा सुविधामा मात्र केन्द्रित छ । अर्को, बेगनासताल मोहोरियास्थित प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल हो । गत वर्षदेखि पोखरा विश्वविद्यालयमै टिचिङ अस्पताल सुरु भएको थियो ।
तर पनि स्थानीयकै साथ पाउन संघर्ष नै गर्नुपरेको सम्बद्ध व्यक्तिहरू बताउँछन् । ‘लेखनाथ एरियामा डाक्टर टिकाइराख्नै गाह्रो छ, त्यसैले सबैभन्दा पहिले डाक्टरको सेवासुविधाप्रति स्थानीय अस्पतालका लागि सरकारी तवरबाट पनि प्रोत्साहन हुनु जरुरी छ,’ लेखनाथको सबैभन्दा पुरानो सामुदायिक अस्पताल शिशुवा अस्पतालका प्रमुख डा. सुमन खनियाले भने ।

स्मीता अधिकारी
अधिकारी दी राइजिङ नेपाल डेलीकी पोखरा संवाददाता हुन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया