जेनजी आन्दोलनका घाइतेलाई सरकारको थप १५ हजार, नेप्से पुनर्संरचना समिति गठन

समाधान संवाददाता २०८२ मंसिर २ गते १८:०९

पोखरा । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घाइतेहरूलाई थप आर्थिक सहायता प्रदान गर्ने भएको छ। फलोअप उपचारमा आर्थिक समस्या भएको गुनासो आएपछि सरकारले प्रतिव्यक्ति थप १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। यसअघि घाइतेहरूलाई जनही २० हजार रुपैयाँ राहत दिइएको थियो। कुल २ हजार ४२९ जना घाइतेले यो थप सहायता पाउनेछन्।

अन्य महत्त्वपूर्ण निर्णयहरू:

Advertisement
  • अन्तर्राष्ट्रिय सहायता स्वीकार: प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिव ५ मिलियन अमेरिकी डलर र स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय।
  • नेप्से पुनर्संरचना समिति: नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन।
  • नेपाल विशेष सेवा ऐन संशोधन: नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय।
  • माथिल्लो मुस्ताङ पदयात्रा शुल्क: माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने। यसका लागि अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ मा हेरफेर गरिनेछ।
  • शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रमा नियुक्ति: डा. कल्पना कुमारी श्रेष्ठलाई शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त।

तपाईको प्रतिक्रिया