कांग्रेस गण्डकीले केन्द्रमा पठायो भेलाको निर्णय

सके नियमित नसके विशेष महाधिवेशन गर्न आग्रह

समाधान संवाददाता २०८२ मंसिर २ गते १९:१३

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले मंसिरभित्रै पार्टीको १५ औं महाधिवेशन गर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ । गत शनिबार पोखरामा भएको प्रदेशस्तरीय भेलाबाट पारित प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाउँदै प्रदेशले यस्तो आग्रह गरेको हो ।

भेलाले नियमित महाधिवेशन हुन नसकेको खण्डमा विधानबमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन मंसिर मसान्तभित्रै सम्पन्न गर्न पनि माग गरेको छ ।

स्थानीय तहदेखि केन्द्रीय कार्यसमितिको पदावधि समाप्त हुन लागेको वर्तमान अवस्थामा नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा भइरहेको बहस दुर्भाग्यपूर्ण रहेको भेलाको ठहर छ । करिब १ महिनादेखि बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्न नसक्दा अन्योलको वातावरण बनेको र कार्यकर्ताहरूमा निराशा बढेको उल्लेख गरिएको छ ।

Advertisement

नेपाली कांग्रेस अलमलिनु नहुने र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने मान्यतामा जोड दिइएको छ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको आदर्शमा फर्केर जनताको चाहनाअनुसार पार्टी सञ्चालन गर्ने प्रतिबद्धतासहित नयाँ परिवर्तित अवस्थामा देश र जनताको सेवा गर्ने कांग्रेस बनेर आगामी निर्वाचनमा जनताको साथ जानुपर्ने टड्कारो खाँचो औंल्याइएको छ ।

नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास र सिद्धान्तप्रति अविचल निष्ठासहित संकल्प प्रकट गर्दै आइरहेको उल्लेख गर्दै अहिले देशमा विषम परिस्थिति र राष्ट्र, प्रजातन्त्र तथा पार्टीको रक्षाको जिम्मेवारी काँधमा आएको भेलाले जनाएको छ । यस अवस्थामा सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताका साथ उच्च मनोबल लिएर अगाडि बढ्न आह्वान गर्दै राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको बाटोबाटै संगठन र प्रजातन्त्रको भविष्य उज्ज्वल रहने कुरामा पूर्ण विश्वास राख्दै अगाडि बढ्ने संकल्प व्यक्त गरिएको छ ।

Advertisement

महामन्त्री विष्णुप्रसाद लामिछानेका अनुसार भेलाले वर्तमान देशको परिस्थिति र पार्टीको महाधिवेशन सम्बन्धमा विभिन्न ६ वटा प्रस्तावहरू पारित गरेको छ । भदौ २३ र २४ गते भएको जेनजीले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्यहरूमाथि भएको आक्रमण र पार्टी कार्यालय तथा कार्यकर्ताको निवासमा भएको आगजनीको घोर भत्र्सना र निन्दा गरिएको छ । भेलाले नेपाली कांग्रेस अहिले कठिन मोडमा रहेको र आफूलाई परिवर्तन गरी जनतामाझ जानुपर्ने अवस्थामा रहेको स्वीकार गरेको छ । विगतदेखि जनताले नेपाली कांग्रेसलाई साथ दिए पनि जनताको चाहनाबमोजिम सिद्धान्त र आदर्शअनुसार व्यवहार गर्न नसकेको भन्दै आत्मालोचना गरिएको छ । आगामी दिनमा गल्ती कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया