मुस्ताङको ‘निषेधित क्षेत्र’ खारेजी र गिट्टी–बालुवाको अधिकार माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पोखरा । मुस्ताङका जनप्रतिनिधिले उपल्लो मुस्ताङका तीनवटा पालिकालाई ‘निषेधित क्षेत्र’ बाट हटाउन र नदीजन्य पदार्थको उत्खनन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जिल्ला समन्वय समिति मुस्ताङ र पाँचवटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको टोलीले प्रधानमन्त्री कार्यालयमा पुगेर विभिन्न १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
जनप्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्रमा उपल्लो मुस्ताङका लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिँदा पर्यटन र जनजीवनमा असर परेको उल्लेख छ । सरकारले हालै मात्र विदेशी पर्यटकका लागि लिइँदै आएको प्रवेश शुल्क ५ सय डलरबाट घटाएर प्रति दिन ५० डलर बनाएकोमा धन्यवाद दिँदै उनीहरूले नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा आइसकेको अवस्थामा ‘निषेधित क्षेत्र’ नै खारेज गर्नुपर्ने माग अघि सारेका छन् । स्वदेशी तथा विदेशी नागरिकको सहज आवागमन र पर्यटन प्रवर्द्धनका लागि निषेधित क्षेत्र हटाउनु उत्तम उपाय रहेको उनीहरूको निष्कर्ष छ ।
ज्ञापनपत्रमा उठाइएको अर्को मुख्य विषय स्थानीय स्रोत साधनको उपयोगसँग सम्बन्धित छ । मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने भएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र नियमावलीका कारण स्थानीय तहले नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उपयोग गर्न पाएका छैनन् । तल्लो मुस्ताङमा प्रशस्त निर्माण सामग्री भए पनि उपल्लो मुस्ताङमा निर्माण कार्य गर्दा अन्य जिल्लाबाट महँगो मूल्यमा खरिद गरेर लैजानुपर्ने बाध्यता रहेको जनप्रतिनिधिले गुनासो गरेका छन् । उनीहरूले ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७’ को दफा ६ उपदफा ७ संशोधन गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।
जलवायु परिवर्तनका कारण हिमाली जिल्ला मुस्ताङले भोग्नुपरेको सास्तीबारे पनि ज्ञापनपत्रमा गम्भीर चिन्ता व्यक्त गरिएको छ । जलवायु परिवर्तनकै कारण तल्लो मुस्ताङमा स्याउ खेती हुन छोडेको, माथिल्लो भेगमा रोगको प्रकोप बढेको र हिउँ चितुवा, कस्तुरी जस्ता वन्यजन्तु लोप हुने अवस्थामा पुगेको बताइएको छ । २०८० साउनमा कागबेनीमा आएको बाढीले बस्ती नै बगाएको स्मरण गराउँदै टोलीले बाढी पहिरो नियन्त्रण, माटोको छाना भएका गुम्बाहरूको संरक्षण र कालीगण्डकी नदीमा तटबन्धका लागि यथेष्ट बजेट व्यवस्थापन गर्न माग गरेको छ ।
कोरला नाका सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकेको भन्दै नाकामा विद्युत्, पानी र कर्मचारी आवासको तत्काल व्यवस्थापन गर्नुपर्ने माग ज्ञापनपत्रमा समेटिएको छ । यस्तै जिल्लाको करिब १.५ प्रतिशत जग्गा मात्र नापी भएको भन्दै तत्काल नापी टोली पठाएर जग्गा व्यवस्थापन गर्न र राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक समयमै सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । बढ्दो सवारी चापसँगै धुवाँधुलोले वातावरण प्रदूषित बनाएको भन्दै पुराना सवारी साधनमा रोक लगाउन र ‘ग्रिन भेहिकल’ लाई प्रोत्साहन गर्ने नीति ल्याउनसमेत सुझाइएको छ ।
ज्ञापनपत्रमा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, घरपझोङका अध्यक्ष मोहनसिंह लालचन, वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिङजिन नाम्गेल गुरुङ, लो–घेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङ लगायतले हस्ताक्षर गरेका छन् ।








पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया
उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया