मुग्लिङ–पोखरा सडकको विजयपुरमा आजबाट काम थालिने, दैनिक ४ घण्टा सवारी बन्द हुने, थाहा पाउनुहोस् वैकल्पिक बाटो

पोखरा ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पोखरा खण्डमा पर्ने विजयपुर खोलाको पुल निर्माण कार्यले गति लिँदा सवारी आवागमनमा भने आजदेखि केही दिन अवरोध सिर्जना हुने भएको छ । आयोजनाको पश्चिम खण्डले एक सूचना जारी गर्दै निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले आगामी ६ दिनसम्म निश्चित समयका लागि सडक बन्द गरिने जनाएको हो ।
आयोजना प्रमुख कृष्ण बहादुर कुँवरद्वारा जारी सूचना अनुसार, मंसिर ६ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक दुई चरणमा गरी चार घण्टा सडक बन्द वा आंशिक रूपमा प्रभावित हुनेछ । निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा देखि विजयपुर हुँदै तालचोक चल्ने सवारी साधनहरू रोकिनेछन् । यद्यपि, यात्रुहरूको चाप र अवस्था हेरेर प्रत्येक ३० मिनेटमा लाइनमा रहेका सवारीसाधनलाई पास गराउने गरी लचिलो व्यवस्थापन अपनाइने आयोजनाले प्रष्ट पारेको छ ।
सडक बन्द भएको समयमा यात्रु तथा चालकहरूलाई सहजता प्रदान गर्न आयोजनाले वैकल्पिक मार्गहरूको प्रयोग गर्न सुझाएको छ । जसअनुसार मोटरसाइकल, स्कुटर तथा साना चारपांग्रे सवारीसाधनहरूले बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने भित्री बाटो प्रयोग गर्न सक्नेछन् । त्यसैगरी, बस, ट्रक जस्ता ठूला तथा गरुङ्गो सवारीसाधनहरूले भने पावरहाउस चोकबाट बाघमारा हुँदै बिरौटा निस्कने मार्ग प्रयोग गर्नुपर्नेछ ।
आयोजनाले यो समयावधिभर ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकाय तथा आम सर्वसाधारणमा अनुरोध गरेको छ । तोकिएको समयमा अत्यावश्यक काम परेका यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गरी वा समय तालिका ख्याल गरेर मात्र यात्रा गर्न आयोजनाले आग्रह गरेको छ ।








पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया
उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया