
पोखरा ।
रहर र सुखभोगले सहर पसेकाहरु फेरि गाउँ फर्केका कमै भेटिन्छ । गाउँ फिरेर दुख गर्ने मध्येमा पर्छिन् कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ ह्याङ्जाकोटकी पशपति गुरुङ । उनको परिवार नै बसाइँसराइ गरी पोखरा पुगेको थियो । अहिले उनको जहानै गाउँमै आत्मनिर्भर बनेको छ ।
गाउँको होमस्टेमा पाहुनाको चाप बढेको थाहा पाएपछि ६ वर्षअघि गाउँ फर्केर पाहुना सत्कारमा तल्लिन भएको उनले सुनाइन् । ‘हामी बसाइँ सरेर पोखरा गइसकेका थियौं । पछि पाउँमा पाहुना आउन थालेपछि राम्रो होला भनेर पुरानो घर मर्मत गरी यहाँ बस्न थालेको ६ वर्ष जति भयो,’ उनले भनिन्, ‘अहिले राम्रै भएको छ । सहर छोडेर गाउँ आएकोमा पछुतो छैन ।’
पोखरामा व्यापार गर्दा भन्दा गाउँमा पाहुना सत्कारबाट राम्रो आम्दानी भएको पशपतिले सुनाइन् । पाहुनाको सेवा गर्न पाइने र आयआर्जन पनि राम्रो भएकाले सन्तुष्ट रहेको उनको भनाइ छ । ‘पोखरामा फेन्सी पसल थियो । त्यहीको कमाइले भाडा तिर्न नि गाह्रो थियो । यहाँ राम्रो छ,’ उनले भनिन्, ‘धेरै जनाको ग्रुप आउँदा त एक हप्तामै सबै खर्च कटाएर ४/५ हजार कमाइ हुन्छ ।’
ह्याङ्जाकोट सामुदायिक होमस्टे नम्बर १३ कि सञ्चालक रिता गुरुङ पनि होमस्टे आम्दानीको स्रोत बनिरहेको बताउँछिन् । पाहुना गाउँ भित्रिदा कृषि उपजसमेत बिक्री भएको छ । ‘पहिला पहिला गाउँमै कृषि उपज किन्न मान्छे आउथेनन् । होमस्टे चलाइसकेपछि पाहुनाले चिनोका रुपमा किन्ने गरेका छन्,’ उनले भनिन्, ‘अलि अस्ति एकै दिनमा सिमी र मुला ५/५ किलो बिक्री भयो । त्योभन्दा अघि ५ हजार रुपैयाँको मकै, चिउरा पनि बेचें ।’
होमस्टेको आम्दानीले घरखर्च चलाउन र लत्ताकपडा किन्न सहज भएको मैतसुबा गुरुङले सुनाइन् । ‘कुनै बेला त नून, तेल किन्न पनि कसरी हो भन्ने बेला थियो । होमस्टे चलाएपछि धेरै सजिलो भएको छ,’ मैतसुबाले थपिन्, ‘लत्ताकपडा किन्न र मिठो मसिनो खान पैसा कता खोज्ने हो भन्न परेको छैन ।’
होमस्टे स्थापना गरी गाउँलाई आत्मनिर्भर बनाउने दशक अघिदेखिको सपना साकार हुँदै गएको ह्याङ्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष ईश्वर गुरुङले बताए । ‘भूकम्प, नाकाबन्दी, कोरोना अनि जेनजी आन्दोलन जस्ता अनेक उतारचढावका कारण सपना पूरा हुन समय लागिरहेको छ । तर, गाउँले तल्लिन नै छन्,’ उनले भने, ‘केहीले समस्यासँग जुध्न नसकेर गाउँ छाडिसके । थातथलोको माया मानेर बसेकाहरु गाउँमा पाहुना बोलाउन कस्सिदै छन् ।’

होमस्टेमा दसैंतिहारपछि पाहुनाको आवागमन लोभलाग्दो छ । पाहुनाको चाप बढ्दै जाँदा घरबास सञ्चालकहरु खुसी छन् । ईश्वर भन्छन्, ‘२०६१ सालदेखि नै गाउँमा होमस्टे खोलेर पाहुना बोलाउने गाउँलेको सपना हो । कहिले भूकम्प, कहिले नाकाबन्दी अनि कोरोना र अहिलेको जेन–जी आन्दोलन सपना साकार हुन्छ कि नाई भन्ने चिन्तामात्र हुन्छ ।
दशैंतिहारपछि पाहुनाहरु आउन सुरु गर्नुभएको छ । अब लक्ष्यतिर लागियो भन्ने परेको छ ।’
१० वर्षअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्चको सहयोगमा ७३ घर समेटेर पर्यटन बोर्डमा होमस्टे दर्ता गरी ह्याङ्जाकोट घरबास सुरु गरेदेखि नै अनेक समस्या झैल्दै आएको अध्यक्ष गुरुङले सुनाए । ‘धिताल गाउँको केही घर समेटेर ७३ घरधुरी समेटर पर्यटन बोर्डमा होमस्टे दर्ता गरिएको हो । पछि धितालतिर पाहुना जान छाडेपछि ह्याङ्जाकोटमा मात्र बनाइयो,’ उनले भने, ‘यहाँ पनि सुस्ताएर बसेको बेला २०६७/६८ सालतिर टलकजंग भर्सेज टुल्के फिल्मको टिम आएपछि फेरि जुर्मुराएको हो ।’
त्यो बेला १ सय ५० जनाको सुटिङ युनिटलाई ह्याङ्जाकोटमा राखेपछि पाहुना पाल्न सकिन रहेछ भन्ने लागेर होमस्टे सञ्चालकहरु अझ हौसिएका थिए । छक्का पञ्जा ३, साइली, वेल कम टू ह्याङ्जाकोट लगायत चलचिल सुटिङ यही गाउँमा भएकाले फिल्मको माध्यमबाट पनि गाउँलाई आत्मनिर्भर बनाउन सहज बनेको स्थानीयको अनुभव छ ।
माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृंखला, वरिपरि हरियाली वनजंगल, ढुंगाले छपक्क छापिएको बाटा तथा घरसहित अर्गानिक खाना र गुरुङ संस्कृति यहाँको विशेषता हो । प्रकृतिकसँगै ऐतिहासिक महत्वको यो गाउँ नेपालका बाइसे चौबिसे राजाका पालादेखि अस्तित्वमा रहेको बताइन्छ । गाउँ माथिको कोत (कोट)मा तत्कालीन समयमा राजाहरूको दरबार रहेको र त्यही कोटको नामबाट गाउँको नाम राखिएको अध्यक्ष गुरुङ दाबी गर्छन् ।
गाउँकै अर्कोतर्फ टाकुरामा जंगलको बीचमा जयकोट नाम गरेको कोट छ । त्यस कोटमा पनि बलिपूजा गर्ने प्रचलन छ । जय कोटमा दिइएको बलीको प्रसाद महिलाले खान नहुने तथा घरमा पनि लैजान नहुने विश्वास गरिन्छ । धार्मिक एवं ऐतिहासिक रुपमा चर्चा कमाएको यो क्षेत्र प्राकृतिक रुपमा उत्तिकै मनमोहक छ । यहाँको प्राकृतिक सौन्दर्य, ऐतिहासिकता र कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ होमस्टे सञ्चालन गरिएको छ ।
होमस्टे पुग्ने पाहुनाका लागि खाजा, बेलुकाको खाना, बास र बिहानाको नास्तासहित १ हजार २ सय रुपैयाँको प्याकेज निर्धारण गरिएको उपाध्यक्ष कुमार गुरुङले जानकारी दिए । १५ जनाभन्दा बढीको समूह अग्रिम जानकारी गराएर गएमा पञ्चेबाजाले स्वागत पनि गरिन्छ । पोखराबाट हेम्जाको याम्दी, मिलनचोक, मेलबोट, माछापुच्छ्रे गाउँपालिकाको धिताल हुँदै ह्याङ्जाकोट पुग्न सकिन्छ । गाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ ।
ह्याङ्जाकोटका ५० मध्ये १२ घरले होमस्टे चलाएका छन् । जहाँ ८० जनासम्म पाहुना राख्न सकिने उपाध्यक्ष गुरुङले बताए । ‘यो सामुदायिक होमस्टे २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो,’ उपाध्यक्ष गुरुङ भने, ‘हामीले यहाँ १२ घरमा ८० जना जति राख्न सक्छौं । तर, पाहुँना अझ बढी भएको खण्डमा बसै घरमा मिलाएर राख्न सकिन्छ ।’
अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल पदमार्ग जानेहरुका लागि ह्याङ्जाकोटको रुट उत्तम रहेको उपाध्यक्ष गुरुङ सुनाउँछन् । हेम्जा मेलबोटबाट सुरु हुने माछापुच्छ«े मोडेल ट्रेक त्यहाँबाट अस्ताम, धिताल, हेम्जाकोट, धम्पुस, अस्ट्रेलियन क्याम्प, पोथना, पितम देउराली हुँदै अन्नपूर्ण बेस क्याम्प र मर्दी हिमाल पुग्न सकिन्छ ।
‘पोखरा २५ हेमजाबाट धितालसम्म बाटो पिच भएको छ । अनि त्यहाँबाट गाउँसम्म आउने बाटो ढलान गरिएको छ,’ उनले भने, ‘सबै सुविधा आएको छ । सहर गएकाहरु पनि गाउँ फर्केका छन् । अब भने त्यो बेलाको सपना पूरा हुन्छ कि भन्ने आशा छ ।’ आत्मनिर्भरको बाटोमा रहेको होमस्टेका लागि विभिन्न संघ संस्थासँगै पालिकाबाट पनि धेरथोर सहयोगको अपेक्षा गरिरहेको उपाध्यक्ष गुरुङले बताए ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।








पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया
उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया