कास्कीमा ‘जेन जी’ वेभ
कास्कीमा थपिए १७ हजार नयाँ मतदाता

पोखरा । युवा पुस्ताको बिद्रोहमा उठेको ‘जेन जी’ आन्दोलनले सत्ता समीकरण मात्र बदलेन, आसन्न निर्वाचनमा मतदाताको स्वरूपमा समेत व्यापक फेरबदल ल्याएको छ । केपी शर्मा ओलीले जेनजी आन्दोलनमा राजीनामा दिएपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचनको घोषणा गरेसँगै कास्की जिल्लामा मात्रै झन्डै १८ हजार नयाँ मतदाता थपिएका छन् ।
निर्वाचनको मिति घोषणा भइसकेपछि सामान्यतया मतदाता नामावली संकलन रोकिने कानुनी प्रावधान छ । तर, ‘जेन जी’ विद्रोहको जगमा बनेको वर्तमान सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले युवाहरूको भावनालाई सम्बोधन गर्न विशेष अध्यादेश जारी गर्दै नामावली दर्ताको बाटो खोलेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी उक्त अध्यादेशमार्फत असोज १० देखि कात्तिकसम्म समय थप गरिएको थियो । यद्यपि नाम दर्ता गरानेको भीड देखेर निर्वाचन आयोगले नामावली दर्ताको समय एक हप्ता बढाइ मंसिर ५ गतेसम्म समय दिएको थियो । यो समयमा मतदाता नामावलीमा युवाहरूको अभूतपूर्व आकर्षण देखिएको छ ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका अनुसार असोज ९ देखि मंसिर ५ सम्मको छोटो अवधिमा कास्कीमा १७ हजार ८ सय ९४ जना नयाँ मतदाता थपिएका छन् । यो वृद्धिसँगै जिल्लामा कुल मतदाताको संख्या ३ लाख ११ हजार ७ सय ५६ पुगेको छ । यसअघि कास्कीमा महिला १ लाख ५३ हजार ४ सय ६८, पुरुष १ लाख ४० हजार ३ सय ९० र अन्य ४ गरी कुल २ लाख ९३ हजार ८ सय ६२ मतदाता पुगेका छन् ।
नयाँ थपिएका मतदातामध्ये नियमित प्रक्रिया कार्यालयमै पुगेर ९ हजार ६ सय ९७ जना थपिएका हुन् । यो संख्या महिला पुरुषको हो । त्यसमा १ जना अन्य लैंगिक समुदायका व्यक्तिले छन् ।
यसका अतिरिक्त राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक तथ्यांक प्रयोग गरी ८ हजार १ सय ९७ जना मतदाता सूचीमा समेटिएको प्रदेश निर्वाचन कार्यालयका रुद्र न्यौपानेले जानकारी दिए । यो अवधिमा ७ सय ५ जनाले नामावली स्थानान्तरण (ठाउँसारी) गरेका छन् भने ३ सय ५२ जनाले विवरण सच्याएका छन् ।
नयाँ मतदाता थप हुने मध्ये १९ वर्षीय सुमन न्यौपाने एक हुन् । ‘पुराना नेताहरूले ३०–४० वर्ष शासन गर्दा पनि देशमा परिवर्तन आएन,’ न्यौपानेले भने, ‘केही दलहरू चुनाव नचाहने पक्षमा देखिएका छन्, तर ढिलोचाँडो चुनाव त हुन्छ नै । त्यो दिनका लागि हामी नयाँ र सक्षम नेतृत्व छान्न तयार भएर बस्नुपर्छ ।’
कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार लाइनमा बस्नेमध्ये ८५ देखि ९० प्रतिशत अनुहार ‘जेन जी’ पुस्ताले मतदाता नामावलीमा दर्ता गराएका हुन् ।
‘सुरुवाती दिनहरूमा त ९० प्रतिशत नै युवाहरू थिए, अन्तिम समयमा मात्र केही अन्य उमेर समूहका छुटेका मतदाता आएका हुन्,’ न्यौपानेले भने, ‘पछि बायोमेट्रिक गर्दा कुन उमेर समूहका छन्, तथ्यांक केलाउनुपर्छ, त्यसअघि अधिकांश युवा पुस्ताकै हुनुहुन्थ्यो ।’ देशभर साढे आठ लाख मतदाता थपिँदा कास्कीमा देखिएको यो उत्साहले आगामी चुनावमा युवा मत निर्णायक हुने संकेत गरेको छ । समग्रमा, ‘जेन जी’ आन्दोलनले सिर्जना गरेको राजनीतिक तरंग कास्कीमा दर्ता भएको नयाँ तथ्यांकले पनि ल्याएको छ ।








पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया
उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया