‘मेरी सञ्जीवनी’ सार्वजनिक

समाधान संवाददाता २०८२ मंसिर ८ गते ११:४६

पोखरा ।
सजु पौडेल बरालद्वारा लिखित गीत संग्रह ‘मेरी सञ्जीवनी’ लोकार्पण गरिएको छ । पृथ्वीनारायण क्याम्पस, नेपाली विभागको आयोजनामा पोखरामा आइतबार आयोजना गरिएको कार्यक्रममा उक्त गीति संग्रहको लाकार्पण गरिएको हो ।


पुस्तकको क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले लोकार्पण गरेका हुन् । साथै, उक्त पुरस्कार नेपाली विभागलाई हस्तान्तरण पनि गरिएको थियो । पुस्तक लोकार्पणपछि क्याम्पस प्रमुख पाठकले सजुले क्याम्पसको गौरव बढाउने काम गरेको बताए । क्याम्पसमा पढेका विद्यार्थी विभिन्न क्षेत्रमा सफल भएको बताउँदै सजुले पनि साहित्य क्षेत्रमा एउटा ईंट्टा थप्ने काम गरेको उनको भनाइ छ ।


विदेशमा रहेर पनि देशको भाषा, साहित्य जोगाउन साहित्यकारले गरेको योगदानको क्याम्पस प्रमुख पाठकले खुलेर प्रशंसा गरे । आगामी दिनमा अझ उत्तोरत्तर प्रगतिको कामनासमेत गरे ।

Advertisement


पृथ्वीनारायण क्याम्पस, नेपाली विभागका पूर्व प्रमुख प्राडा कुसुमाकर न्यौपानेले गीति संग्रहको टिप्पणी गरेका थिए । गीत भाव, भाषा, बिम्बको समिश्रण भएकाले सञ्जीवनीमा त्यसको राम्रो समिश्रण भेटिएको बताए । पुस्तकको साजसज्जादेखि नाम अति नै मेल खाएको उनले सुनाए ।


‘मरेकालाई लाई पनि जीवित बनाउने अमृतलाई सञ्जीवनी भनिन्छ,’ उनले भने, ‘यो शीर्षकका बारेमा खोतलिंदै जाँदा देशको अवस्थामा मृत अवस्थामा र देशका जनता मरुभूमिमा बसे जस्तै भएको अवस्थामा आफ्नै सिर्जना सञ्जीवजी हो ।’ एक सर्जकका लागि सृजनालाई अमृतमय हुने भएकाले यसमा पोख्न खोजिएको भाव र शीर्षक मेल खाएको उनले बताए ।

Advertisement


सर्जकले पुस्तकमा प्रेमभाव, बिछोड, पीडा, अन्य पक्षलाई ३ विषय सूचीमा छुट्याएकाले पाठकलाई पढ्न सहज बनाएको उनले सुनाए । सिर्जनामा देशप्रेमको भाव प्रस्ट देखिएको छ । ‘राष्ट्र प्रेमका सँगै प्रेमका विविध पाटाहरुलाई यसमा संग्रह गरिएको छ,’ उनले भने । पुस्तकमा केही त्रुटि भएकाले आगामी दिनमा सच्याउँदै सहित्य क्षेत्रमा राम्रा सिर्जना गर्न उनको सुझाव थियो ।


कार्यक्रममा नेपाली विभागका सदस्य उपप्राध्यापक गीता पौडेलले पुस्तकको परिचर्चा गरेकी थिइन् । उनका अनुसार पुस्तकमा रहेका ७१ वटा गीतमा मानवीय र राष्ट्र प्रेम भाव समेटिएका छन् । तीमध्ये मानवीय प्रेमभावका २७, पीडा विछोडका २८ र अन्य भाव दर्साउने १६ वटा गीत रहेको उनले बताइन् ।


सर्जक सजुले विदेशमा रहँदा मनमा उब्जिएको देश प्रेमलाई कागजमा उतारेको बताइन् । साथै, बोलीचालीमा प्रयोग गर्ने भाषालाई कृतिमा समेटेको उनको भनाइ छ । उनी केही वर्षदेखि पोर्चुगल बस्दै आएकी छन् ।


नेपाली विभागका प्रमुख डा यमनाथ तिमिल्सिना, पुस्तकका सम्पादन रमेश दाहाल, नेपाली विभाग सदस्य डा श्रीधर न्यौपाने, निर्मल सापकोटा लगायतले सर्जक सजुलाई ‘मेरी सञ्जीवनी’ मा भएका कमी, कमजोरीलाई सुधार्दै आगामी कृति अझ सशक्त बनाउन सुझाव दिएका थिए ।


कार्यक्रममा पुस्तकका सम्पादक रमेश दाहालले पनि आफूले सम्पादन गरेका केही पुस्तक पृथ्वीनारायण क्याम्पस, नेपाली विभागको पुस्तकालयका लागि हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया