पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

राष्ट्रिय समाचार समिति (रासस) २०८२ मंसिर ८ गते १५:४८

पर्वत ।

‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र परेको छ । कुश्मा नगरपालिका–१ पाङमा २०७६ सालमा सुरु गरिएको औद्योगिक ग्राम योजना बजेट अभाव तथा कानुनी झमेलाका कारण अलपत्र परेको हो ।

औद्योगिक ग्रामका लागि आवश्यक जग्गा अधिग्रहण गरी सम्याउने, तारबार लगाउने र पहुँचमार्ग निर्माण गर्ने काम गरिएको भएपनि वन क्षेत्रसम्बन्धी कागजी प्रक्रिया, स्थानीय सहमति र प्रशासनिक ढिलासुस्तीका कारण काम अघि बढ्न नसकेको कुश्मा नगरपालिकाले जनाएको छ ।

Advertisement

परामर्शदाता छनोट, बोलपत्र आह्वानलगायतका कानुनी प्रक्रिया पूरा गरी २०७६ साल फागुनमा वडा नंं १ मा रहेको नेपाने सामुदायिक वन समूहसँग सहमति लिएर काम सुरु भए पनि विभिन्न बाधाव्यवधानका कारण अपेक्षिति परिणाम आउन नसकेको नगरपालिकाले स्पष्ट गरेको छ ।

औद्योगिक ग्राम निर्माणका लागि १८० रोपनी जग्गा अधिग्रहण गरी काम अघि बढाइएकामा सामुदायिक वनका रुखहरु मासिएको भन्दै डिभिजन वन कार्यालयमा उजुरी परेपछि प्रारम्भिक चरणमै काम रोकिएको हो ।

Advertisement

कुश्मा नगरपालिका–१ का अध्यक्ष खगराज पौडेलका अनुसार नगरको प्राथमिकतामा उद्योग ग्राम निर्माण भए पनि वन तथा वातावरण मन्त्रालय एवं सरोकारवालामाझ समन्वय अभावका कारण योजना स्थगित भएको हो ।

स्थानीय जनप्रतिनिधिले पनि सङ्घ–प्रदेश र नगरबीचको समन्वय अभाव, ढिलासुस्ती र विविध कागजी प्रक्रियाले योजना रोकिएको बताएका छन् । औद्योगिक ग्राम निर्माणमा लामो समयसम्म भएको अवरोध हटाउन चाँडै प्रभावकारी पहल गर्नुपर्ने सरोकारवालाको माग छ ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले निर्माणाधीन औद्योगिक ग्रामलाई पूर्णता दिने पक्षमा पहल भइरहेको र सङ्घ तथा प्रदेश सरकारसँग बजेट माग गरिएको बताए । प्रमुख जोशीले बनको समस्यासहित आवश्यक बजेट अभावका कारण एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम अपेक्षा गरिएअनुसार अघि बढ्न नसकेको स्पष्ट गर्दै कानुनी प्रक्रियामा अड्चन नआए र माग गरिएअनुसार बजेट विनियोजन भए सो योजना सफल हुने धारणा व्यक्त गरे ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया