पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण

समाधान संवाददाता २०८२ मंसिर ८ गते १९:४०

पोखरा । पृथ्वीनारायण क्याम्पसको भौतिकशास्त्र विभागले बिएस्सी र एमएस्सी तहका विद्यार्थीलाई लक्षित गरी दुई दिने ‘रिसर्च ट्रेनिङ एन्ड वर्कसप’ सम्पन्न गरेको छ । ‘फ्रम आइडियाज टु ड्राफ्ट’ शीर्षकमा मंसिर ६ र ७ गते आयोजित कार्यक्रममा विद्यार्थीलाई प्रस्ताव लेखन, अनुसन्धान विधि र प्रतिवेदन तयारीसम्बन्धी व्यावहारिक ज्ञान दिइएको हो ।

विभागको ‘फिजिक्स रिसर्च कमिटी’ (पिआरसी) द्वारा आयोजित प्रशिक्षणमा करिब ८५ विद्यार्थीको सक्रिय सहभागिता थियो । विशेष गरी बिएस्सी प्रोजेक्ट र एमएस्सी थेसिस गर्ने विद्यार्थीलाई प्रस्तावना लेखन (प्रपोजल राइटिङ), अनुसन्धान विधि (रिसर्च मेथड्स), प्रतिवेदन तयारी र जर्नल आर्टिकल तयारीसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले गरे । कमिटीका संयोजक डा. जीवन रेग्मीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सहायक क्याम्पस प्रमुख डा. विजयबहादुर थापा, क्युएए/इएमआइएस युनिट संयोजक अमृतकुमार भण्डारी, पूर्व सहायक क्याम्पस प्रमुख मिनराज लम्साल लगायतको उपस्थिति थियो । कार्यक्रम श्रीकान्त सुवेदीले सञ्चालन गरेका थिए ।

Advertisement

कार्यक्रम विभिन्न प्राविधिक सत्रमा विभाजित थियो । पहिलो दिन विभागका सह–प्राध्यापक परशुराम पौडेलले ‘लेभल–वाइज रिसर्च फरम्याट्स एन्ड अब्जेक्टिभ्स’ र डा. जीवन रेग्मीले ‘प्रपोजल राइटिङ एन्ड रिपोर्ट कम्पोनेन्ट्स’ विषयमा प्रशिक्षण दिए । त्यसैगरी, सह–प्राध्यापक डा. कपिल अधिकारीले साहित्य समीक्षा (लिटरेचर रिभ्यु), सन्दर्भ सामाग्री (रेफरेन्सिङ) र अनुसन्धानको ग्याप पहिचानसम्बन्धी सन्देशमूलक प्रस्तुति दिएका थिए ।

विभागीय प्रमुख डा. खड्कबहादुर क्षेत्रीले अनुसन्धान विधि (रिसर्च मेथोडोलोजी) मा केन्द्रित रही प्रशिक्षण दिए । जिपिएएसटीका पूर्व कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीले नतिजा, छलफल, निष्कर्ष र सारांश लेखनमा व्यावहारिक ज्ञान बाँडे । पहिलो दिनको अन्तिम सत्रमा डा. बाबुराम शर्माले प्रोजेक्ट तथा अनुसन्धान कार्यमा अपनाइएका विधि र प्राप्त नतिजालाई प्रतिवेदन लेखनमा कसरी समेट्ने भन्नेबारे प्रस्तुति दिएका थिए ।

Advertisement

दोस्रो दिन रसायनशास्त्र विभागका डा. रामजीवन यादवले ‘इन्टरडिसिप्लिनरी रिसर्चेज’ विषयमा प्रेरणादायी प्रशिक्षण दिँदै विज्ञानमा सहकार्यको महत्त्वबारे प्रकाश पारे । त्यसपछि पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्व कार्यकारी निर्देशक सह–प्राध्यापक डा. नामराज धामीले ‘जर्नल आर्टिकल राइटिङ, जर्नल सेलेक्सन एन्ड प्लेजरिजम अवेरनेस’ विषयमा विस्तृत प्रशिक्षण दिएपछि विद्यार्थीमा जर्नल आर्टिकल प्रकाशनसम्बन्धी आत्मविश्वास बढेको बताइएको छ ।

विभागीय प्रमुख डा. खड्कबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न समापन सत्रमा विद्यार्थीहरूले कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएको र आफ्नो सिकाइ अनुभव सुदृढ भएको बताए । सहभागी तथा अतिथिहरूले विभागको यो पहलले विद्यार्थीलाई अनुसन्धानतर्फ आकर्षित गर्न, शैक्षिक आत्मविश्वास बढाउन र वैज्ञानिक लेखनमा स्पष्टता ल्याउन महत्त्वपूर्ण योगदान गरेको प्रतिक्रिया दिएका छन् । दुई दिनसम्म चलेको उक्त कार्यक्रमले विद्यार्थीको वैज्ञानिक लेखन सीप र प्रकाशनसम्बन्धी ज्ञानलाई मजबुत बनाएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया