नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव

समाधान संवाददाता २०८२ मंसिर २० गते १६:१६

पोखरा ।

नेपालको विकास निर्माण र योजना तर्जुमा प्रक्रियामा ‘स्थानिक चिन्तन’ को अभाव रहेको सरोकारवालाहरूले औंल्याएका छन् । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहतको समाज विज्ञान केन्द्रद्वारा शनिबार पोखरामा आयोजित ‘कचहरी’ कार्यक्रममा बोल्ने वक्ताहरूले स्थान विशेषको भूगोल र आवश्यकता नबुझी गरिने विकासले अपेक्षित नतिजा दिन नसकेको निष्कर्ष निकालेका हुन् ।

कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक डा. कृष्णप्रसाद पौड्यालले नेपालको योजना प्रक्रियामा क्षेत्रगत चिन्तनको कमी रहेको बताए । डा. पौड्यालले स्थान, दूरी, दिशा, आकार र ढाँचाजस्ता अवधारणाहरू प्रयोग गरेर गरिने मानसिक चित्रण नै स्थानिक चिन्तन भएको स्पष्ट पारे । ‘स्पेस वा स्थानको अर्थ नबुझी गरिने योजना अधुरो हुन्छ, विकास हुनका लागि आर्थिक भूगोलका तीन आयाम अर्थात् घनत्व, दूरी र विभाजनमा रूपान्तरण हुन आवश्यक छ,’ उनले भने ।

Advertisement

उनले स्रोत साधनको तार्किक वितरण र सामाजिक न्यायका लागि ‘स्थानिक तथ्यांक’ र नक्सांकन अनिवार्य रहेकोमा जोड दिए ।

नेपालका आवधिक योजनाहरूमा समानता र सामाजिक न्यायका विषय समेटिए पनि ‘स्थान’  को अवधारणालाई प्राथमिकता नदिइएको डा. पौड्यालको भनाइ थियो । सन् १९९० अघि क्षेत्रीय विकासको अवधारणा केही हदसम्म लागु भए पनि पछिल्ला दिनमा ‘कहाँ’ भन्ने प्रश्नको उत्तर खोज्ने कार्यान्वयन पक्ष कमजोर भएको उनले जिकिर गरे । उनले स्रोत साधनको तार्किक वितरण र सामाजिक न्यायका लागि ‘स्थानिक तथ्यांक’ र नक्सांकन अनिवार्य रहेकोमा जोड दिए ।

Advertisement

अवधारणा पत्रमाथि टिप्पणी गर्दै पृथ्वीनारायण क्याम्पसका समाजशास्त्र उपप्राध्यापक मुकुन्द लम्सालले उपलब्ध स्रोतको पहिचान र प्रयोग गरी विकास गरिनुपर्ने बताए । क्षेत्रगत विकास भूगोलमात्र नभई सामाजिक विषयवस्तु पनि भएको उनको भनाइ थियो । यस्तै, प्राडा कृष्ण केसीले अर्थशास्त्रमा पैसा प्रधान भएजस्तै भूगोलमा ‘क्षेत्र’ प्रधान हुने बताए । २०२८ सालको रिजनल प्लानिङले सन्तुलित विकासको अवधारणा ल्याए पनि अहिले त्यो ओझेलमा परेको भन्दै उनले रित्तो गाउँमा विकास थुपार्नुभन्दा स्थानीयको आवश्यकता पहिचान गर्नुपर्नेमा जोड दिए ।

डा. लोकरञ्जन पराजुलीले कागजमा योजनाहरू राम्रा देखिए पनि व्यवहारमा उतार्न नसक्नु विडम्बनापूर्ण रहेको बताए । उपप्राध्यापक पूर्णबहादुर खाणले अर्थशास्त्रको सीमान्तिकृत सिद्धान्त अनुसार जहाँ असमानता बढी छ, त्यहाँ राज्यले लगानी बढाउनुपर्ने धारणा राखे । उनले विकास योजनामा जनसंख्या र भूगोललाई सँगै राखेर नहेरिएको गुनासो गरे ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले आवश्यकता र विकासबिच तालमेल नमिलेको बताए । ‘गाडीको भिडभाड हुने ठाउँमा सडक विस्तार हुँदैन, तर बस्ती कम भएका ठाउँमा फराकिलो बाटो बनेको छ,’ उनले भने । राजनीतिकर्मी शारदाप्रसाद सुवेदीले विकास सहर केन्द्रित भएको र विदेशी सहायता लिँदा उनीहरूकै सर्त मान्नुपर्ने बाध्यता रहेको बताए ।

स्थानीय तहको अनुभव सुनाउँदै पोखरा महानगर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महानगर बनाउँदा ग्रामीण भेगलाई गाभ्दा सन्तुलन बिग्रिएको र विकासमा कठिनाइ भएको बताए । रैथाने बस्तीभन्दा नयाँ बस्तीमा काम गर्न सहज भएको उनको अनुभव थियो । निवर्तमान वडाध्यक्ष शंकर बास्तोलाले पनि महानगरको सीमाङ्कन गर्दा भूगोलको ख्याल नगरिएको भन्दै राजनीतिक नेतृत्वले विज्ञको सल्लाह लिनुपर्ने सुझाव दिए ।

छलफलमा डा. रामजी पोखरेलले कुन ठाउँमा कुन मोडेल उपयुक्त हुन्छ भन्ने निर्क्योल गर्नु नै क्षेत्रगत विकास भएको भन्दै ‘बटम अप एप्रोच’ मा जोड दिए । स्ट्रगल रानाले भूगोलभन्दा मानव केन्द्रित विकास आवश्यक रहेको औंल्याए । इन्जिनियर कौशलचन्द्र जिसीले विकासका लागि व्यवस्थित सोचको अभाव रहेको बताए भने समाजशास्त्री भीम न्यौपानेले परिवर्तित अवस्थामा विकासको परिभाषा र ढाँचाबारे पुनर्विचार गरिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा गोमा क्षत्री, राधाकृष्ण लामिछाने, प्राडा ज्ञानबहादुर कार्की र पत्रकार ओम हमाल लगायतले छलफलमा भाग लिएका थिए ।

कलेजको परम्परा अनुसार कार्यक्रममा सबैभन्दा पहिले उपस्थित हुने सहभागीलाई अध्यक्षता गराउने चलन अनुरुप राजबहादुर रोकायाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । बिएसडब्लु चौथो वर्षकी विद्यार्थी सम्झना भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रम निर्धारित दुई घण्टाको समयमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया