हेमजा साहित्य महोत्सवमा कवि मुकुन्दशरण उपाध्यायको रथारोहण

समाधान संवाददाता २०८२ मंसिर २० गते १७:००

पोखरा
भाषाविद् तथा कवि मुकुन्दशरण उपाध्यायको रथारोहणसहित हेमजा साहित्य महोत्सव शनिबार सकिएको छ । समापनका अवसरमा कवि उपाध्यायलाई उनको जन्मथलो हेमजामै भव्य अभिनन्दन गरिएको हो ।


उपाध्यायको सम्मानमा विष्णुपादुका माविको चौरदेखि साहित्य महोत्सव आयोजनास्थलसम्म विशेष झाँकी निकालिएको थियो । झाँकीमा उनको साहित्यिक यात्राका महत्वपूर्ण पक्ष समेटिएको मूल समारोह समितिका उपाध्यक्ष कोविदशरण उपाध्यायले बताए । महोत्सव समापनका क्रममा विभिन्न कृतिको लोकार्पण पनि भयो । साहित्यिक र सांस्कृतिक प्रस्तुति पनि देखाइयो । संयोजक छन्दमणि त्रिपाठीका अनुसार स्थानीय कला संस्कृति झल्किने प्रदर्शनी पनि गरिएको थियो ।


यो महोत्सव शुक्रबार सुरु भएको थियो । २ दिनसम्म चलेको कार्यक्रममा देशभरका सयभन्दा बढी स्रष्टा जम्मा भए । पहिलो दिन विभिन्न विधामा विमर्श भयो । नाटक, महाकाव्य, आख्यान र कविताका विविध रूपमाथि चर्चा गरियो ।

Advertisement


नेपाली नाटक र रङ्गमञ्चबारे प्राडा रामचन्द्र पोखरेल, कृष्ण उदासी र पुरु लम्सालले बहस गरे । यो सत्रको सहजीकरण प्राञ्जलले गरेका थिए । ‘वर्तमान समयमा महाकाव्य लेखन’ विषयमा पनि छलफल भयो । यसमा डा. नवराज लम्साल, माधव वियोगी र डा. रमेश शुभेच्छु सहभागी थिए । बहसमा प्राडा जगन्नाथ रेग्मीले सहजकर्ताको भूमिका निभाए ।


आख्यानको बहसमा ज्ञानु अधिकारी, डा. रजनी ढकाल र तीर्थ गुरुङले भाग लिए । यसलाई डा. भूमिराज बस्ताकोटीले चलाए । महोत्सवमा मुक्तक, गीत, गजल, लघुकथा र कविता वाचनसमेत भए । जीवनसागर भण्डारी, सरु लामिछाने, डा. ईश्वरमणि अधिकारी, रामचन्द्र शर्मा, रुपिन्द्र प्रभावी, लोकराज अधिकारी, राजन बराल, रामचन्द्र क्षत्री, लक्ष्मण थापा, इन्दिरा चापागाईँ, कल्याण पन्त, गीता तिवारी, टुकादेवी आचार्य, कल्पना भट्टराई र लक्ष्मी थापा लगायतले पनि आआफ्ना सिर्जनासहित महोत्सवमा सहभागिता जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया