कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी

समाधान संवाददाता २०८२ मंसिर २२ गते ६:१६

पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन (२०८२) का लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न चाहनेको लर्को लागेको छ । केन्द्रको परिपत्रअनुसार उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा प्रत्यक्षतर्फ मात्रै १२ जनाले दाबी पेस गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिले हालै जारी गरेको परिपत्रअनुसार तल्ला तहबाट उम्मेदवार सिफारिस गर्नुपर्ने समयसीमा तोकिएपछि कास्की–१ मा आकांक्षीहरूको आवेदन संकलन सकिएको हो । पार्टीको आन्तरिक शक्ति सन्तुलन र संगठनको प्रभावका कारण यहाँ कडा प्रतिस्पर्धा देखिएको छ ।

क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेका अनुसार प्रत्यक्षतर्फ कृष्णबहादुर केसी, तिलक रानाभाट, जीवन परियार, गुरु बराल, सुदीपमोहन भट्टराई, भानु ढकाल, प्रेम सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सोभिता कार्कीले उम्मेदवारी दिने इच्छासहित नाम दर्ता गराएका छन् । आकांक्षीमध्ये केही पुराना र अनुभवी नेता छन् भने केहीले पुस्तान्तरणको दाबीसहित नेतृत्वमा आउन खोजेका छन् ।

Advertisement

समानुपातिकतर्फ भने ८ जनाको आवेदन परेको छ । जसमा संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाँ छन् । समानुपातिक सूचीमा महिला, जनजाति, दलित तथा अल्पसंख्यक समुदायको उल्लेख्य उपस्थितिले समावेशी प्रतिनिधित्व बलियो हुने अपेक्षा गरिएको छ ।

कांग्रेस केन्द्रले उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत, नभए बढीमा ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । तर, आकांक्षीको संख्या दर्जन पुगेपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

Advertisement

क्षेत्रीय सचिव सरोज केसीका अनुसार सहमतिको प्रयासलाई प्राथमिकता दिइनेछ । यदि सहमति नजुटेमा ‘प्राइमरी इलेक्सन’ (आन्तरिक मतदान) वा अन्य विधिबाट उम्मेदवार छनोट गर्ने विकल्प खुला राखिएको उनले बताए । ‘स्थानीय तहका पदाधिकारीको समीकरणले पनि उम्मेदवार चयनमा भूमिका खेल्नेछ,’ केसीले भने ।

उम्मेदवार सिफारिस र आन्तरिक व्यवस्थापनका लागि कास्की क्षेत्र नम्बर १ ले सोमबार (मंसिर २२ गते) महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र सबै आकांक्षीलाई छलफलका लागि बोलाएको छ ।

यस्तै, कास्की क्षेत्र नम्बर २ र ३ ले पनि सोमबार नै प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी तथा प्रतिनिधिबीच भेला आयोजना गरेको जनाएका छन् । विश्लेषकहरूले कास्की–१ कांग्रेसको परम्परागत बलियो क्षेत्र भए पनि युवा मतदाताको सक्रियता र बढ्दो प्रतिस्पर्धाका कारण उम्मेदवार चयन प्रक्रिया नै नतिजाका लागि निर्णायक हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया