टेवानमा सचेतना

समाधान संवाददाता २०८२ मंसिर २५ गते १७:०३

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो आठौं स्थापना दिवसको अवसरमा बुधबार महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ ।


कार्यक्रममा नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्दै सुरक्षित वातावरण तयार गर्नुपर्नेमा जोड दिए । अधिवक्ता तारा शर्माले महिला हिंसा न्यूनीकरण गर्न महिलाको पनि उत्तिकै भूमिका हुने बताइन् ।


‘पुरुषलाई मात्रै गाली गरेर महिला हिंसा अन्त्य हुँदैन,’ उनले भनिन्, ‘प्राप्त अधिकारको दुरुपयोग होइन, सदुपयोग गर्दै सबै पक्ष मिलेर महिला हिंसा अन्त्य गर्नुपर्छ ।’ टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षत्रीले संस्थाको गतिविधिले पर्यटनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि गर्न योगदान पुर्‍याएको बताइन् ।

Advertisement


‘महिलामाथि हुने विभेद सहने होइन, उजागर गर्ने हो,’ उनले भनिन्, ‘महिला हिंसा अन्त्य गर्न पुरुषले पनि साथ दिनुपर्छ ।’ टेवान अध्यक्ष शोभा पाण्डेले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनको अवसर पारेर सचेतना कार्यक्रम आयोजना गरेको बताइन् ।


टेवान महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक जयादेवी तिवारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया